जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार २१:३६

तनहुँ घटनाको यथार्थ : सहमतिविपरित गाउँपालिका केन्द्र बनाउन खोज्दा जनताको निशानामा परे मिनेन्द्र रिजाल


तनहुँ, असोज १२ । राजपत्रमा प्रकाशित सूचना तथा पूर्वसहमति विपरित तनहुँको ऋषिङ गाउँपालिकाले केन्द्र निर्धारण गरी नयाँ भवन बनाउन खोज्दा कांग्रेस नेता तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजाल जनताको आक्रोशको निशानामा पर्नुभएको छ । राज्य पुनसंरचनाको क्रममा तत्कालीन सर्वदलीय सहमति तथा जिल्ला प्राविधिक समितिले गरेको निर्णयबिरुद्ध पूर्वमन्त्रीलाई बोलाएर भवन शिल्यान्याश गर्न थालेपछि जनताको निशानामा पर्नुभएको हो ।

ऋषिङ गाउँपालिकाले वडा नम्बर ७ को पोखरीभन्ज्याङमा गाउँपालिकाको केन्द्र बनाउने निर्णय गरी आज भवनको शिलान्यास गर्ने कार्यक्रम तय गरेको थियो । सो भवनको शिलान्यासको लागि कांग्रेस नेता रिजाल ऋषिङ गाउँ पालिका गएका थिए । पूर्वसहमति विपरित गाउँपालिकाले केन्द्र बनाउने निर्णयको बिरुद्धमा ऋषिङका बासिन्दाले सडक अबरुद्ध गरी बिरोध जनाएका थिए ।

गाउँपालिका केन्द्र संघर्ष समिति गठन गरी स्थानीय बासिन्दाले आईतवार ऋषिङ गाउँ पालिका बन्दको आयोजना गरेका थिए । उनीहरूले रुख ढालेर सडक अबरुद्ध समेत गरेका थिए । सबै अबरोध पन्छाउदै कार्यक्रम स्थल पुगेका रिजाललाई स्थानीय जनताले केही बेर घेरा हालेर राखेका थिए । उनीहरूले जनतालाई अपायक पर्ने ठाउँमा गाउँ पालिकाको केन्द्र बनाउन खोजिएको भन्दै शिलान्यास नगर्न रिजाललाई अनुरोध गरेका थिए । स्थानीय जनतालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले साथ दिएका थिए ।

नेकपा ऋषिङ गाउँ कमिटिका अध्यक्ष गन्जसिंह गुरुङले गाउँ पालिकाको एकतर्फी निर्णय बिरुद्ध जनताले प्रतिरोध गरेको बताउनु भयो । उहाँले रिजाललाई कुनै आक्रमण गरेको नभई गाउँ पालिकाको निर्णयको बिरोध मात्रै गरेको बताउनु भयो । जबर्जस्ती शिलान्यास गरिए पनि भवन बनाउन नदिने गुरुङले बताउनुभयो । सहमतिबिपरित केन्द्र बनाउने कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्णय गराएको कारण आफू जनताको कार्वाहीमा पर्ने त्रासमा रिजाललाई पठाएका थिए ।

गाउँ पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले गाउँ कार्यपालिकाको सर्वसम्मत निर्णय अनुसार नै केन्द्र निर्धारण गरी भवन बनाउने निर्णय गरिएको बताउनु भयो ।