जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार ०६:४३

नागढुंगाको जाम हट्यो– दशैँका लागि झण्डै दुई लाख यात्रु काठमाडौंबाट बाहिरिए


 

काठमाडौं, असोज १३ । यसपालिको दशैँका लागि काठमाडौंबाट झण्डै दुई लाख यात्रु बाहिरिएका छन् । यो संख्या सोमबारदेखि अझ बढ्दै जानेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाडौंसँग जोडिएका विभिन्न नाकाबाट आइतबारसम्म झण्डै दुई लाख यात्रु बाहिरिएका छन् । केही दिनदेखि लामो जाम हुने गरेको मुख्य नाका नागढुंगामा जाम हटेको छ ।

आइतबार बिहानदेखि अहिलेसम्म यो नाका हुँदै सजिलै गाडी चलिरहेका छन् । आजदेखि १८ गतेसम्म काठमाण्डौबाट चितवनको नारायणघाटसम्म १० चक्के र त्यसभन्दा ठूला गाडी र लरीलाई प्रवेशमा रोक लगाइएकाले पनि जाम नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

तर, ग्रामीण क्षेत्रसँग जोडिएका सडकको अवस्था भने अस्तव्यस्त छ । लगातारजसो परेको झरीका कारण दोलखा, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, पाँचथर, सर्लाहीलगायतका जिल्लाका ग्रामीण सडक अस्तव्यस्त भएका हुन् । यस्ता सडकका कारण दशैँका लागि गाउँघर जान र आवश्यक सामान लैजान सास्ती भएको छ ।