जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १७:२६

प्रदेश– १ को राजधानी विराटनगरमै राख्ने नेकपाको निर्णय


विराटनगर, वैशाख २२

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश–१ को स्थायी राजधानी विराटनगर राख्ने निर्णय गरेको छ । प्रदेश सभामा दुई तिहाई बहुमत रहेको नेकपाले विराटनगरमै स्थायी राजधानी राख्ने निर्णय गरेपछि यही प्रस्ताव परित हुनेछ ।

नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । राजधानी विराटनगरमै राख्ने भनिएपनि संरचनाहरू भने वृहत् विराट क्षेत्रभित्र राख्ने निर्णय गरेको छ । कार्यपालिका, व्यवस्थापिका लगायतका संरचनाहरू मोरङको विराटनगर र सुन्दरहरैँचा तथा सुनसरीको इटहरी आसपास रहने निर्णय नेकपाको छ ।

संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको बताउनु भयो । प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ ।

यद्यपि कांग्रेसले भने प्रदेश राजधानीका सम्पूर्ण संरचना विराटनगरमै राख्नुपर्ने अडान राखेको छ । यता इन्द्रमणि पराजुली र कुसुम श्रेष्ठ लगायत नेकपा सांसद र प्रतापप्रकाश हाङगाम र लीला सुब्बा लगायत कांग्रेस सांसदले भने प्रदेश राजधानी धनकुटा हुनुपर्ने मागसहित प्रदेश सभामा छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् ।