जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार ०८:२४

नारायणी नदीमा चल्न थाल्यो सानो पानीजहाज


भरतपुर, असोज १४

प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ ।

रङ्गमहल रिभर ल्यान्ड प्रा.लि.ले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक सुरुआत भने दशैंको फूलपातीबाट गरिने प्रा.लि.का अध्यक्ष रमन भट्टराईले जानकारी दिनुभयो । “हामीले अहिले टेस्ट ड्राइभ सुरु गरेका हौँ । यसलाई औपचारिक रूपमा फूलपातीबाट सुरु गर्नेछौँ,” भट्टराईले भन्नुभयो । मिनी क्रुज झट्ट हेर्दा सानो पानीजहाजकै स्वरूपमा छ । यसलाई स्थानीय पानीजहाजकै नामले चिन्दछन् । मिनी क्रुज पहिलोपटक आइतबार मात्रै नारायणी नदीमा टेस्ट ड्राइभ गरिएको हो । यसको सोमबार पनि टेस्ट ड्राइभ जारी थियो । “अहिले हामी २० जना यात्रु राखेर यसलाई चलाउन सक्नेछौँ,” अध्यक्ष भट्टराईले भन्नुभयो ।

मिनी क्रुजसँगै प्रा.लि.ले दुईवटा जेट स्किम, दुईवटा रिभरबोट र एउटा बनानाबोट पनि सञ्चालनमा ल्याएको छ । यसका लागि प्रा.लि.ले करिब साढे तीन करोड रुपियाँ लगानी गरेको जनाएको छ । रङ्गमहल रिभर ल्यान्ड प्रा.लि. कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको संस्था हो भने यसले नारायणी नदीमा मिनी क्रुज चलाउन वातवरण मन्त्रालयबाट ईआईए पास गराएको छ भने पर्यटन मन्त्रालय र भरतपुर महानगरपालिकाबाट सञ्चालनको अनुमति लिएको छ । नारायणगढको नारायणी किनारस्थित बुद्धपार्कलाई आफ्नो केन्द्र बनाएको प्रा।लि।ले मिनी क्रुज देवघाटदेखि गोलाघाटसम्म सञ्चालन गर्ने भएको छ । “हामीले पर्यटन प्रवद्र्धनकै लागि मिनी क्रुज चलाउने उद्देश्य राखेका हौँ,” उहाँले भन्नुभयो ।

नारायणी नदीमा झन्डै दुई सय सिटको क्रुज अर्थात् सानो पानीजहाज चलाउने तयारी भइरहेका बेला मिनी क्रुज पनि नारायणीमै आएको हो । प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा राइनो वाटर इन्टरमेन्टेन्ट प्रा.लि.ले क्रुज बनाउँदै छ । दशैँअघि नै क्रुज चलाउने योजना भए पनि प्राविधिक कारणले यो सञ्चालनमा अझै एक महिना लाग्ने राइनोका प्रबन्धनिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो । कात्तिक महिनाभरिमा नारायणीमा क्रुज पनि सञ्चालनमा आउने छ । “प्रदेश सरकारले क्रुजको पार्किङस्थल अर्थात् पोर्ट (बन्दरगाह) निर्माणका लागि एक करोड रुपियाँ अनुदान सहयोग गरेको हो,” कँडेलले भन्नुभयो, “पोर्ट बनाउँदै गर्दा यसले नारायणी नदीको कटान पनि रोक्ने उद्देश्य राखिएको छ ।”
क्रुज सञ्चालन गर्ने बेलासम्म २५ करोड रुपियाँ खर्च हुने र अहिले क्रुज बनाउन मात्रै १५ करोड रुपियाँ खर्च भएको कँडेलले बताउनुभयो । “साढे दुई तलाको क्रुजमा दुई सय सिट रहनेछ,” कँडेलले भन्नुभयो, “क्रुजभित्रै खाना, खाजा समेतको व्यवस्था गरेर यात्रा गराइने योजना हाम्रो हो ।”

रङ्गमहल रिभर ल्यान्ड प्रा.लि.ले नारायणीमा सञ्चालनमा ल्याएको मिनी क्रुज चीनमा निर्माण भई नारायणी नदीमा ल्याइएको हो भने राइनो वाटर इन्टरमेन्टेन्ट प्रा।लि।ले सञ्चालनमा ल्याउन लागेको क्रुज प्राविधिकहरू विदेशबाट झिकाएर नारायणी नदीमै निर्माण गर्दै गरिएको हो । पर्यटन वर्ष २०२० नजिकिँदै गरेको समयमा नारायणी नदीमा मिनी क्रुज नयाँ आकर्षण बनेको छ । अझै क्रुज नै सञ्चालनमा आएपछि यसले अझै प्रभावकारिता बढ्ने चितवन पर्यटन विकास समितिका महासचिव विश्वप्रसाद सुवेदीले बताउनुभयो । (गोरखापत्र)