Untitled Document

शासक दलका नेता, सांसद र कार्यकर्ताहरू ठेकेदार र विदेशी पूँजीका ‘एजेन्ट’ भएसम्म विकासको ठाउँमा देशको विनाशमात्रै निम्त्याउनेछन् : नारायणमान बिजुक्छें (अन्तर्वार्ता )

नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापनाको दिवसको सन्दर्भमा पार्टी स्थापना, नेपालको कम्युनिष्ट आन्दोलन, नेपालको समसामयिक राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय राजनीतिबारे नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंसँग श्रमिक साप्ताहिक, मजदुर दैनिक र अनलाइन मजदुर प्रतिनिधिले लिएको अन्तर्वार्ताको सम्पादीत अंश ।

नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापनाको साढे चार दशकलाई कसरी समीक्षा गर्नुहुन्छ ?

पञ्चायती निरङ्कुशताविरुद्ध सङ्घर्षको बेला नेपाल मजदुर किसान संगठनको स्थापना भएको थियो । त्यसबेला राजनैतिक सङ्घर्ष आजको जस्तो जटिल थिएन । पञ्चायती व्यवस्थाको पतन, प्रजातन्त्रको पुनःस्थापना र गणतन्त्रको स्थापनापछिका दिनहरू झन्–झन् जटिल हुँदैछन् । पञ्चायती व्यवस्थाका खुँखार मण्डले, जनविरोधी र अपराधीहरू कति ‘कम्युनिष्ट’ नेता भएका छन् । कति त्यस्ता ‘कम्युनिष्टहरू’ भ्रष्टाचारी, ठेकेदार, गिट्टी, बालुवाका व्यापारी, तस्कर र जीउ म्हास्ने मुद्दाका अपराधी छन् । तिनीहरूमध्ये कति मन्त्री भए, कति नेता भई टोपलेका छन् र कति सांसद, प्रादेशिक जनप्रतिनिधि र मेयर छन् । जात–जाति, भाषा–भाषी, क्षेत्रीय र अन्य विविध जातजातिमा पनि पहिचानको नाममा शोषक र अपराधीहरू गरिब जनताभन्दा माथि देखिएका छन् । राजनैतिक दलहरूमा सिद्धान्त, आस्था, विचार र आदर्श समाजको लागि सङ्घर्ष गर्ने उद्देश्यको ठाउँमा, पदमा पुग्ने, ‘जे गरेर पनि पैसा कमाउने’, ‘व्यक्तिगत हितलाई प्राथमिकता दिने’ जस्ता दुर्गुणहरू बोकेका कार्यकर्ता र नेताहरूको बिगबिगी छ । सिद्धान्त, नैतिकता र आस्थालाई जोगाउन कुनै सङ्घर्षको खाँचो अनुभव गर्दैछु ।

नेपालको कम्युनिष्ट आन्दोलनले चार दशकपछि पनि सही बाटो ठम्याउन सकिरहेको छैन र नेमकिपाले जनताको प्रजातन्त्रमार्फत् नेपालको कम्युनिष्ट आन्दोलनलाई सही मार्ग देखाउन कष्टसाध्य काम गर्दैछ ।

नेमकिपा स्थापना नभएको भए नेपालको कम्युनिष्ट आन्दोलनमा के फरक पर्ने थियो ?

नेपालको कम्युनिष्ट आन्दोलनमा पञ्चायती व्यवस्थाको विरोधमा जोताहा किसानहरूको मोहियानी हक, सहकारी संस्थामा भ्रष्टाचारको विरोध, गैरकानुनी कूत र ब्याजको विरोधमा बाली काट्ने आन्दोलन, जाली–फटाहा र गाउँका शोषक र सामन्तका विरोधमा सङ्घर्ष नेमकिपाले चालु राख्यो । संशोधनवादको विरोध, रुसी सामाजिक–साम्राज्यवादको विरोध, व्यक्ति हत्या र अराजकतावादको विरोधमा नेमकिपाले नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढायो ।

प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थामा पनि गएर कामदार वर्गलाई पूँजीवादी प्रभावबाट मुक्त गर्ने र निर्वाचनलाई पनि देश र जनताको हितमा उपयोग गर्ने लेनिनवादी नीति नेमकिपाले नेपाल कम्युनिष्ट आन्दोलनमा लागू ग¥यो र निःस्वार्थ रुपले देश र जनताको सेवा गर्ने माओ त्से तुङ विचारधारालाई पनि नेपालको भूमिमा लागू ग¥यो । नेमकिपाले निरन्तर माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई बोक्दै अगाडि बढ्यो र पूँजीवादको विरोध एवम् समाजवाद र साम्यवादका पक्षमा प्रचार गर्दै गयो । नेमकिपाको सैद्धान्तिक सङ्घर्षको अभावमा नेपालको कम्युनिष्ट आन्दोलनलाई ‘कम्युनिष्ट’ नाउँमा शासक दलहरूले देश र जनतालाई एकपछि अर्को विश्वासघात गर्दै जाने थियो र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ‘कम्युनिष्ट’ शब्दलाई समेत बद्नाम गर्दै लाने थियो ।

जेजति सैद्धान्तिक आधारमा तात्कालीन पुष्पलाल समुहसँग अलग भएर नेमकिपा स्थापना भएको थियो, आज चार दशकपछि ती सैद्धान्तिक आधारको कसरी समीक्षा गर्नुहुन्छ ?

नेकपा (पीएल)समूहसँग हाम्रो मतभेद रुसी संशोधनवाद सामाजिक–साम्राज्यवादमा पतन, भारतीय विस्तारवाद र भारतीय एकाधिकार पूँजीको विरोध र मजदुर तथा किसान आन्दोलनभन्दा नेपाली कांग्रेससँगको एकतामा प्राथमिकता जस्ता विषयमा थिए । मुख्य दुश्मन राजा र राजतन्त्र हो भन्ने पीएल समूहको दृष्टिकोण थियो भने आज देशमा राजा र राजतन्त्र नभए पनि भारतीय विस्तारवाद र भारतीय एकाधिकार पूँजी तड्कारो रुपले नेपाली र नेपाल जनताको मुख्य शत्रुको रुपमै खडा छ । यस अर्थमा नेपालको कम्युनिष्ट आन्दोलनले चार दशकपछि पनि सही बाटो ठम्याउन सकिरहेको छैन र नेमकिपाले जनताको प्रजातन्त्रमार्फत् नेपालको कम्युनिष्ट आन्दोलनलाई सही मार्ग देखाउन कष्टसाध्य काम गर्दैछ ।

मानिसलाई देखिने बाहिरी रोगभन्दा भित्री रोगले बढी दुःख दिएजस्तै नेपाल कम्युनिष्ट आन्दोलनलाई पनि भित्री रोगबाट पहिले मुक्त पार्न जरुरी छ ।

अब देशमा राजनीति स्थायित्व, समृद्धि र विकास हुने चर्चा छ त ?

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको महिनौंपछि पनि ऐन–कानुन बनाउन नसक्ने सरकार र शासक दलहरूले ‘राजनैतिक स्थायित्व’ ल्याउने गफ त प्रजातन्त्र र गणतन्त्रको गफजस्तै हुनेछ । गरिबी उन्मूलनको २० वर्ष पछि मात्रै ‘समृद्धि’ को कुरा गर्नु सुहाउने विषय हो । ‘विकास’ को जहाँसम्मको प्रश्न हो – शासक दलका नेता, सांसद र कार्यकर्ताहरू ठेकेदार र विदेशी पूँजीका ‘एजेन्ट’ भएसम्म विकासको ठाउँमा देशको विनाशमात्रै निम्त्याउनेछन् ।

नेपालको कम्युनिष्ट आन्दोलन आगामी दिनमा कसरी अघि बढ्ने देख्नुभएको छ ? 

नेपाल कम्युनिष्ट आन्दोलनले अझ झन् गम्भीर भएर अगाडि बढ्नुपर्ने समय आएको छ । मानिसलाई देखिने बाहिरी रोगभन्दा भित्री रोगले बढी दुःख दिएजस्तै नेपाल कम्युनिष्ट आन्दोलनलाई पनि भित्री रोगबाट पहिले मुक्त पार्न जरुरी छ ।

नेपालको समसामयिक राजनीतिक परिस्थितिलाई कसरी हेर्नुभएको छ ?

नेपालको समसामयिक राजनीति अहिले पनि अन्योल र अस्पष्ट छ ।

विश्व कम्युनिष्ट आन्दोलनको आजको अवस्थाबारे तपाईको विश्लेषण के हो ? 

संरा अमेरिकी प्रशासनको कार्यशैलीले साम्राज्यवाद ठूलो आर्थिक सड्ढटमा फस्दै जाने अनुमान गरिंदैछ । यस कारण संरा अमेरिकी अधिकारीको ध्यान मध्यपूर्वबाट रुस र चीनतिर जाँदैछ । संरा अमेरिकाको एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमाथि गर्दै गएको धम्की र थिचोमिचोले विश्व कम्युनिष्ट आन्दोलनलाई जलमल गर्नेछ ।

अन्त्यमा भन्नुपर्ने केही कुरा ?

अमेरिकी राष्ट्रपति ट्रम्पको अस्थिर मानसिकता व्यक्तिको नभई अमेरिकी राजनैतिक व्यवस्थाको प्रतिबिम्ब त होइन भन्ने विश्लेषण आउन बाँकी छ । तर सार त्यही हो ।

February 11, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *