जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार ०९:२८

सि लाई राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलमा स्वागत गर्ने


काठमाडौं, असोज २३

चीनका राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुहुने भएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि सी शनिवार अपरान्ह काठमाडौं आइपुग्नु हुने भएको हो । उहाको स्वागतका लागि अहिले राजधानीलाई भब्य तरिकाले सजाइएको छ । राष्ट्रपति सी शनिबार काठमाडौं ओर्लिंदा उहालाई राष्ट्रपति भण्डारीले नै विमानस्थलमा स्वागत गर्नुहुनेछ । साथै प्रधानमन्त्री ओली पनि स्वागतमा विमानस्थल नै पुग्नुहुने कार्यक्रम तय भएको छ । नेपालले पछिल्लो समयमा राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा कसैलाई सवारी मन्त्री तोकेर उनैले विमानस्थलमा स्वागत गर्ने गर्दै आएको थियो । तर, यसपाली सीलाई विशेष महत्व दिन लागिएको हो ।

चीनका राष्ट्रपतिको तहबाट यसपालि २३ वर्षपछि भ्रमण हुन लागेको हो । यसअघि सन् १९९६मा नेपाल आएका चीनका राष्ट्रपति जियाङ जेमिनलाई पनि तत्कालीन राजा वीरेन्द्र र प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलमा नै गएर स्वागत गर्नुभएको थियो । चीनका अहिलेका राष्ट्रपति सीलाई तत्कालीन नेता माओत्से तुङपछि सबै भन्दा शक्तिशाली मानिने गरिएको छ । सी विचारधारालाई अहिले चीनले आफ्नो मुलुकको मार्गनिर्देशक सिद्धान्त बनाइरहेको छ ।

चीनका राष्ट्रपति आउँदा नेपाल रेल सम्बन्धी महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुन सक्ने जनाइएको छ । यसैगरी चीनले प्रस्ताव गरेको सुपुर्दगी सम्बन्धी सन्धीमा पनि हस्ताक्षर हुने सम्भावना रहेको जनाइएको छ । यद्यपि सरकारको तर्फबाट औपचारिक रुपमा जानकारी गराइएको छैन । सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरिएको छ । जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने बुझिएको छ ।