जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार १६:१५

उपमेयर थापाले बाबुलाई खुट्टा ढोगाएको तस्विर भाइरल बनेपछि…


काठमाडौं, असोज २३ । बिरामी बाबुलाई खुट्टा ढोगाएको फोटो भाइरल बनेपछि नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले प्रष्टिकरण दिनुभएको छ । दसैँमा टिका ग्रहणपछि बुबालाई खुट्टा ढोगाएको तस्वीर ट्वीट् गरेपछि चर्काे आलोचनाको सामना गर्नुभएकी मगरले बाबुको मायाको खातिर खुट्टा ढोगाएको भन्दै सामाजिक सञ्जालमै प्रष्टिकरण दिनुभएको हो ।

विजया दशमीको दिन बेलुकी ९ः२८ मा ट्वीटरमा मगरले पोष्ट गरिएको तस्वीर ओछ्यानमा सुतिरहेका बुबाले छोरीको खुट्टा ढोगेको देखिन्छ, बाबुले खुट्टा ढोग्दा उपप्रमुख थापा खित्का छाडेर हाँसेको देखिन्छ । ट्वीटमा लेखिएको छ, ‘टीका जमरा र बाबाको आशिर्वाद पछि । हाम्रो संस्कार चेलिबेटीको खुट्टा ढो गर्ने चलन । बाबाको माया । ह्याप्पी दसैँ २०७६ ।’ थापाको तस्वीर सार्वजनिक भएपछि धेरैले त्यसमाथि प्रतिक्रिया जनाएका छन । बुवाको अपमान गरेको, त्यसमा पनि विरामी बुवाको भनेर उपप्रमुख थापाको धेरैले आलोचना गरेका छन ।

थापाले पुनः ट्वीट गर्नुभएको छ, ‘तपाईंहरुले यो फोटोमा के देख्नु भयो कुन्नि ? मैले यो फोटोमा बाबाको माया, हाम्रो संस्कार (चेलिबेटि ढोग्ने) अझ भन्नु पर्दा बाबा स्वास्थ्यले निको हुनुहुन्न । तर, उहाँको जिद्धिपना ढोग्ने हात दिँदा पनि नमान्दा खुट्टा यसरी उचाल्नु पर्र्यो । अनि एक छिन हाँसो पनि भयो । त्यहि हाँसो सेयर ।’ उपप्रमुख थापाले आफ्नो संस्कारमा छोरीलाई ढोग गर्ने भएको र बुवाले खुट्टा मागेपछि त्यसरी उचाल्नुपरेको बताउनु भएको छ । ‘फोटो हेर्दा अस्वभाविक लाग्न सक्छ । विरामी बुबाले खुट्टा नै ढोग्छु, भनेपछि मैले खुट्टा दिएँ, बुबाले ढोग्नु भयो र म हाँसे ।’ थापाको भनाई छ ।

मगरले आफूमाथि भइरहेको आलोचनाको प्रतिवाद पनि गर्नुभयो । यो आफ्नो व्यक्तिगत जीवन र संस्कार भएको उहाँको भनाई छ । ‘मेरो पनि व्यक्तिगत जीवन छ । हाम्रो संस्कृति छ । बुबा विरामी हुनुहुन्छ । ओछ्यानमा नै रहेर खुट्टा ढोग्छु भनेपछि बुबाको खुसीको लागि यसो गरिएको हो,’ थापाले भन्नुभएको छ । सामान्य विषयलाई लिएर अनावश्यक टिकाटिप्पणी भइरहेको जिकिर पनि थापाले गर्नुभयो । ‘बुबा छोरीको विषयलाई लिएर पदीय विषय जोड्नु, हिन्दू धर्म र व्यक्तिगत लालञ्छना लगाउनु अस्वभाविक छ,’ उहाँले भन्नुभयो, ‘मलाई मन पर्ने चिज तपाईंलाई मन नपर्न सक्छ । तपाईंलाई मन पर्ने चिज मलाई नपर्न सक्छ, यसकारण तथ्यगत, बाध्यता र संस्कृति बुझनेहरुले नकरात्मक रुपमा लिँदैन । हामीले सकरात्मक भएर सोचौँ,’ मगरको भनाई छ ।