जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार ११:३९

सिन्धुपाल्चोकमा बस दुर्घटना : ५ जनाको मृत्यु, ३० बढि घाइते


सिन्धुपाल्चोक, असोज २४

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इन्द्रवतीबाट काठमाडौं आउदै गरेको बस आज विहान दुर्घटनामा परेको हो ।

हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा थुप्रै घाइते भएको भनिए पनि एकिन हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले घटनास्थलतर्फ प्रहरी टोली परिचालन भईसकेकाले यकिन विवरण आउन नसकेको बताउनु भयो ।

बसमा करिव ५० जना यात्रु रहेको हुन सक्ने स्थानीयबासीले बताएका छन् । घाइतेको उद्धारका लागि एम्बुलेन्स र हेलिकप्टर समेत परिचालन गरिएको प्रहरीले बताएको छ ।

बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल खसेर क्षतिग्रस्त भएको थियो । उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीले खबर पाएलगत्तै घटनास्थलमा पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको थियो ।