जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार १७:०९

प्रहरीलाई प्रधानमन्त्री ओलीको निर्देशन : अपराध गर्नेको अनुहार, पद, हैसियत र सम्पत्ति नहेरी पक्राउ गर्नोस


काठमाडौं, असोज २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा शान्तिसुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका सिलसिलामा कुनै दबाब र प्रभावमा नपर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । कुन पार्टीको सरकार छ, कसले अपराध गर्यो भनेर नहेरी स्वतन्त्र ढङ्गले निष्पक्ष भएर अनुसन्धानमा लाग्न पनि प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिनुभयो ।

‘नेपाल प्रहरीले कुन पार्टीको सरकार छ, कुन हैसियतको मान्छे छ ? कुन पदमा छ ? कसले अपराध गर्यो भनेर नहेरी स्वतन्त्र ढङ्गले निष्पक्ष भएर अनुसन्धान गर्नुपर्छ, यस्मा कुनै संझौत ागर्न हुँदैन,’ ६४ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने अवस्थाले शान्ति सुरक्षामा असर पार्ने बताउनु भयो । निष्पक्ष छानबिन गर्न खोज्दा प्रहरीलाई अर्कातिर मोड्ने प्रवृत्तिप्रति प्रधानमन्त्री ओलीले चिन्ता प्रकट गर्नुभयो । राजनीतिक दलबल देखाउने र छानबिनलाई व्यवधान गरी सत्यसम्म पुग्न व्यवधान गर्ने अनि फेरि सत्य स्थापित हुन सकेन भने त्यही प्रहरीलाई गाली गर्ने काम हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो अनुचित काम कसैबाट हुन नहुने प्रष्ट पार्नुभयो ।

‘म सरकारका तर्फबाट भन्न चाहन्छु, कुन पार्टीको सरकार छ, त्यो प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन, कसले अपराध गर्यो त्यो अनुहार हेर्नुपर्ने विषय पनि होइन, को पक्षमा छ, को विपक्षमा छ ? त्यो प्रहरीले मतलब राख्नुहुँदैन, को कुन पदमा छ ? प्रहरीले सरोकार राख्नुहुँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कानूनको कार्यान्वयन, निष्पक्ष अनुसन्धान र शान्तिसुरक्षामा प्रहरीले ध्यान दिनुपर्छ ।’ कसैको दबाबमा नपरी कानूनअनुसार अगाडि बढ्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई दबाब दिने दुष्प्रयास नगर्न सवैलाई चेतावनीसमेत दिनुभयो । विश्वमै मर्यादित, सभ्य र सौहार्दपूर्ण भाषा नेपालको भए पनि समाज उन्मुक्त मनोवृत्तितर्फ उन्मुख हुँदै गएर असभ्य भाषाको प्रयोग बढ्दै गएको भन्दै उहाँदे चिन्ता जनाउनु भयो ।

‘सामाजिक सञ्जालमा हेर्यौं भने असभ्य भाषाको प्रयोगमा तँछाडमछाड छ, यसले अरू कुरामा भन्दा गम्भीर सांस्कृतिक अधोपतनलाई देखाउँदछ, सांस्कृतिक अधोपतन भएपछि समाजलाई सच्याउन गाह्रो हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बालबालिका र युवा पंक्तिलाई त्यस्ता असभ्य भाषा सिकाउने प्रवृत्ति देखापरेको छ ।’ समाजलाई आन्तरिक शान्तिसुरक्षाबाट भड्काउने आधारको काम त्यसले गरिरहेको छ भन्दै प्रहरीका लागि थप चुनौतीको विषय भएको उहाँको भनाइ थियो ।

समृद्धितिर अघि बढेको मुलुकलाई फेरि विकासको महाभियानबाट अल्मल्याएर विकास हुन नदिने र शान्तिसुरक्षा खल्बल्याउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसो नगर्न सचेत गराउनु भयो । ‘कोही संविधान मान्दिन भन्ने, कोही शान्ति सुरक्षा, अमन चयन मान्दिन भन्ने, कोही व्यवस्था मान्दिन भनी देशद्रोही र अराजक प्रवृत्तिप्रति सरकार र प्रहरी चुप लागेर बस्न हुन्न,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । अहिलेसम्म सरकार धेरै उदार भएर प्रस्तुत भएको उल्लेख गर्दै उहाँले अनावश्यक हिंसा र त्रासको वातावरण कायम गरिरहने अवाञ्छित क्रियाकलाप रोक्न कडा रुपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशनसमेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले अमर प्रहरी र प्रहरी दिवस एकै दिन मनाउँदा बधाई र समवेदना दिन अप्ठेरो भएको उल्लेख गर्दै अलगअलग रुपमा कार्यक्रम गर्न सुझाव पनि दिनुभयो । उहाँले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै अमर प्रहरी परिवारमा समवेदना प्रकट गर्नुभयो ।