जनता टाइम्स

२५ आश्विन २०७६, शनिबार १५:०५

बिमानस्थलमै यसरी गरिँदैछ चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष स्वागत र सम्मान


काठमाडौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई ऐतिहासिक र फलदायी बनाउन राष्ट्रिय सहमति जुटाएको सरकारले स्वागतमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा भ्रमणको तयारीदेखि कामको अनुगमन अघि बढाएको सरकारले तेइस वर्षपछि छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सीको भब्य स्वागत गर्न लागेको हो ।

राष्ट्रपति सी आज अपराह्न चार बजे नेपाल उत्रँदै हुनुहुन्छ । उहाँले भारतको चेन्नईबाट काठमाडौंका लागि बिशेष बिमानमार्फत उडान भरिसक्नुभएको छ । नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी आफै बिमानस्थल पुगेर पहिलो स्वागत गर्ने हुनुभएको छ । राष्ट्रपति भण्डारीले पहिलो औपचारिक स्वागत गरेपछि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूसँग चिनियाँ राष्ट्रपतिको भेट विमानस्थलमै हुनेछ । राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम रहेको छ । गार्ड अफ अनरमा दुवै मुलुकका राष्ट्रपति हुनुहुनेछ । त्यसपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसहितको परिचय गराउनु हुनेछ ।

परिचय गराउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार गार्ड अफ अनरको स्थान यसपटक एयरपोर्टमै तोकिएको छ । त्यसैले परिचयात्मक कार्यक्रम त्यहीं हुनेछ, प्रधानमन्त्री ओली पनि सोही स्थानमा हुनहुनेछ । चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको उपस्थिति हुन लागेको हो ।

तीन वर्षअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले एयरपोर्टमै स्वागत गर्नुभएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका अधिकारीहरू पनि विमानस्थलमै पुग्नुभएको थियो । विशेष स्वागत र सम्मानको सन्देश दिन उपल्लो तहका अधिकारीहरू विमानस्थल पुग्न लाग्नुभएको हो । सन् १९७८ मा तत्कालीन चिनियाँ उपप्रधानमन्त्री देङ सियाओपिङको नेपाल भ्रमणका बेला तत्कालीन प्रधानमन्त्री कीर्तिनिनधि विष्टले स्वागत गर्नुभएको थियो ।