जनता टाइम्स

२५ आश्विन २०७६, शनिबार १५:५८

चिनियाँ राष्ट्रपति सीको कार्केड सवारीमा सडक पेटीबाट हिडन रोक, यी रुटतिर पाइँदैन हिडन


काठमाडौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीका बेला सर्वसाधारणले दायाँ–बायाँ सडक पेटीबाट हिडन रोक लगाइएको छ । बिशिष्ट पाहुँनाको सुरक्षाका लागि सरकारले यस्तो ब्यवस्था गरेको हो । राष्ट्रपति सीको सुरक्षा व्यवस्थापका लागि ‘कारकेड सवारी’ अवधिभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तिनकुने–बानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टुकू–कालिमाटीहुँदै कार्यक्रमस्थल सोल्टी होटलको सडक पेटी प्रयोगमा रोक लगाइएको हो ।

यसैगरी सोल्टी होटलबाट राष्ट्रपति बिद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शितल निवास जाँदा र फर्किदा समेत सो रुटका सडक पेटीमा सुरक्षाकर्मी बाहेक अरुलाई प्रवेशमा रोक लगाइएको छ । कारकेड सवारीका बेला यी रुटका सडक दायाँ–बायाँ सडक पेटी तथा किनारमा नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको छ । मित्रराष्ट्र चीनका बिशिष्ट पाहुनाको सुरक्षा ब्यवस्था कडा पार्दै यस्तो कदम चालिएको हो । राष्ट्रपति सीको कारकेड सवारी रुटमा पर्ने अग्ला भवन, पुल, घुम्ती लगायतमा पनि विशेष सुरक्षा ब्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । सडक पेटी सुरक्षा व्यवस्थापनका लागि काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सुरक्षा जनशक्ति तैनाथ भएको छ ।

राष्ट्रपति सी नेपालको राजकीय भ्रमणका क्रममा आजै चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिदै हुनुहुन्छ । भारतको राजकीय भ्रमण सकेर राष्ट्रपति सी नेपालतर्फको यात्रामा हुनुहुन्छ । सी एयर चाइनाको जहाजबाट नेपालको राजकीय भ्रमणका लागि चेन्नईबाट नेपालतर्फ आउनुभएको हो । महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार कारकेड सवारी अवधिभर तोकिएको ठाउँमा बसेर स्वागत गर्न बाहेकलाई आफूखुसी ओहोरदोहोर गर्न दिइनेछैन ।

‘राष्ट्रपति सीको कारकेड सवारीका बेला तोकिएको निश्चित स्थानमा बसेर स्वागत गर्ने बाहेकलाई निश्चित समयका लागि सडकपेटीबाट आवातजावत गर्न नपाइनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ, सवारी सकिएपछि भने आवातजावतमा कुनै रोकतोक हुने छैन,’ ट्राफिक प्रमुख एसएसपी ढकालले जनताटाइम्ससँग भन्नुभयो । प्रहरीले चिनियाँ राष्ट्रपति सीको सवारीको बेला यी रुटबाट नहिडन आम नागरिकलाई आग्रहसमेत गरेको छ ।