जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १०:१४

चिनियाँ राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीसँग राखेका थिए नेपालको विकास र समृद्धिमा सघाउन यस्तो प्रस्ताव


काठमाडौं, असोज २७ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकास र समृद्धिमा दुवै देशले सहयोग गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । नेपाल भ्रमणअघि भारत भ्रमणमा रहनुभएका राष्ट्रपति सीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको ६ घण्टा लामो बार्तामा यस्तो प्रस्ताव राख्नुभएको हो ।

राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको बार्तामा यस्तो जानकारी दिनुभएको हो । बैठकमा सहभागी एक सदस्यले जनताटाइम्सलाई दिएको जानकारी अनुसार राष्ट्रपति सीले चीन र भारतबीच भइरहेको शान्ति एवं विकासको साझेदारीमा नेपाल पनि जोडिन सक्ने धारणा राख्नुभयो । उहाँले आइतबारको द्विपक्षीय वार्तामा ‘टु प्लस वान’ अर्थात् ‘चीन-भारत प्लस नेपाल’को सन्दर्भ झिक्दै यस्तो धारणा राख्नुभएका हो ।

‘म यहाँ आउनुअघि भारतमा थिएँ । मैले त्यहाँ (नरेन्द्र) मोदीजीसँग नेपाल जाँदै छु भन्दा उहाँले शुभकामना दिनुभयो, मैले मोदीजीलाई भनें नेपाल हामी दुई ठूला देशको छिमेकमा छ । नेपाल हाम्रो असल छिमेकी पनि हो । नेपालको विकास र समृद्धिमा हामी दुवैले सहयोग गर्नुपर्छ,’ राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै ती नेताले भने । राष्ट्रपति सी दक्षिण भारतको ममल्लापुरममा भारतीय प्रधानमन्त्री मोदीसँग ‘अनौपचारिक वार्तालाप’ सकेर नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएको थियो ।

उहाँले नेपाललाई चाइना(इन्डिया प्लस नेपालको अवधारणाबाट फाइदा लिनसमेत सुझाउनु भएको थियो । चीन र भारतबीच भइरहेका अनौपचारिक कुराकानीले दुई मुलुकलाई सकारात्मक परिणाम दिइरहेको राष्ट्रपति सीले उल्लेख गर्नुभएको थियो ।