जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १५:२५

रोशनी–महरा यौन दुर्ब्यवहार प्रकरण : घटेन महराको ब्लडप्रेसर, अस्पतालमै बयान लिने तयारी


काठमाडौं, असोज २७ । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले बलात्कारको आरोप लगाएपछि प्रहरी हिरासतमा पुग्नुभएका तात्कालिन सभामुख कृष्णबहादुर महराको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अस्पतालमै बयान लिने तयारी अघि बढेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान दिँदादिँदै गम्भीर अस्वस्थ हुनुभएपछि गत असोज २३ गते महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । महरामा उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह र अक्सिजन अभाव जस्ता समस्या देखिएको हो । पाँच दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा खासै सुधार नभएको र प्रेसर नघटेपछि अव मंगलवारबाट अस्पतालमै महराको बयान लिने निश्कर्षमा सरकारी वकिलको कार्यालय पुगेको हो ।

पक्राउ परेलगत्तैबाट स्वास्थ्य अवस्था बिग्रिए पनि महरा अस्पताल जान नमानेपछि प्रहरी हिरासतमै अक्सिजन दिइएको थियो । बृद्ध अवस्थामा बलात्कारको आरोप लागेपछि सभामुख पद नै गुमाउनु भएका महरा सो घटनापछि प्रेसर घटन नसकेको चिकित्सकहरुको भनाई छ । उपचारका लागि अस्पताल जान नमानेपछि हिरासतमै अक्सिजन दिइएको थियो । शाहीले बलात्कारको आरोप लगाएपछि महरा अघिल्लो सोमबारदेखि प्रहरी हिरासतमा रहेका छन् । गत असोज २३ गते शुक्रवार सरकारी वकिल कार्यालयमा बयान दिँदा दिँदै स्वास्थ्य समस्या आएपछि महरालाई नर्भिक अस्पताल लगिएको हो ।

महरा पहिलेदेखि नै विरामी रहेका थिए । त्यसैले उनको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । साथै अक्सिजनको पनि व्यवस्था गरिएको थियो । पहिलो दिनको बयानमा महराले शाहीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताएका छन ।