जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १५:३४

गणतन्त्रले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई बिस्थापित गर्यो : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताउनु भएको छ । गणतन्त्र दिवश मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवश बनाउनु पर्ने बताउनु भएको छ ।

‘यस दिवशलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यो जनताको दिवश हो । जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु पर्छ ।’ प्रधानमन्त्री ओलीले नेपालमा २००७ साल भन्दा अघि देखि नै गणतन्त्रका लागि संघर्ष भएको बताउनु भयो । ‘कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र आएको होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापना भएको हो ।’

गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई बिस्थापित गरेको बताउनु भयो । कुनैबेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘कुनै बेला लिगलिग कोटको राजा हुनपनि दौडमा जित्नु पथ्र्यो । यो कुराले त्यसबेला जन्मसिद्ध श्रेष्ठता थिएन भन्ने पुष्टि गर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘पछिका शासकमा जन्मसिद्ध श्रेष्ठता स्थापित गरेर जनताको अवमूल्यन गरे । गणतन्त्रले त्यस मान्यतालाई बिस्थापित गर्यो ।’

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवशका अवसरमा देशलाई अग्रगामी बाटोतर्फ लैजाने गरी बहस हुनुपर्ने धारणा पनि राख्नुभयो ।