जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार ०७:०२

नेपाल र अष्ट्रियाबीच जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सम्झौता


काठमाडौं, कात्तिक ५ ।  नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् । नेपाल र अष्ट्रियाबीच गठित ऊर्जा संयन्त्रको पहिलो सचिवस्तरीय बैठकमा दुवै देश सो सहमतिमा पुगेका हुन् ।

सोमवार सम्पन्न संयन्त्रको पहिलो बैठकमा नेपालकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रियाका तर्फबाट त्यहाँको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टिलर सहभागी हुनुहुन्थ्यो ।

सम्झौतापत्रमा नेपालकोतर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टिलरले हस्ताक्षर गर्नुभएको हो ।

संयन्त्रको पहिलो बैठकमा ६३५ मेगावाटको दूधकोशी र १०० मेगावाटको तामाकोशी–५ जलविद्युत् आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत् आयोजनाको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमति भएको मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको क्षमता अभिवृद्धिका लागिसमेत प्राविधिक सहयोग गर्ने समझदारी भएको छ । नेपाल र अष्ट्रियाबीच जलविद्युत् पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारीपत्रमा गत जेठ ८ गते हस्ताक्षर भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रइस रेईकार्डसँग सो सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो । दुई देशबीच ऊर्जाका क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवलाई आदानप्रदान गर्ने सो सहमतिमा उल्लेख थियो । त्यसका साथै परियोजनाको पहिचान गरी संयुक्त कार्य समूह बनाएर काम गर्ने समझदारीसमेत त्यति बेला भएको थियो ।

समझादारीअनुसार ऊर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाको संयुक्त अध्ययन र तालीममा पनि सहकार्य गरिने समझदारीअनुसार आज दुवै पक्षबीच उक्त सहमति भएको हो ।

मन्त्रीपुनले मन्त्रालयको कार्यभार सम्हालेलगत्तै चीन, बङ्गलादेश र अष्ट्रियासँग ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । त्यसका साथै भारतसँग इनर्जी बैंकिङ, अन्र्तदेशीय प्रशारण लाइन, पिटिएको गाइड लाइनसमेत संशोधन भएको छ ।

जनामा थप लगानी गर्न दुवै पक्षको सहमत भएको जानकारी दिनुभएको थियो ।

मन्त्री पुनले ऊर्जा संयन्त्रको पहिलो बैठकले ऐतिहासिक निर्णय गरेको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने अष्ट्रिया सरकारको निर्णयप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले जलविद्युत् क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै अष्ट्रियासँग नेपालले ऊर्जा समझदारीमा हस्ताक्षर गरेको युरोपको पहिलो देश भएको जानकारी दिनुभयो ।

मन्त्री पुनले आगामी दिनमा दुवै देशबीच ऊर्जाका क्षेत्रमा लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवलाई आदानप्रदान गर्न संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।