जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार २०:२३

सर्वसम्मत रुपमा प्रदेश–१ को राजधानी विराटनगर तोकियो, नेकपाको प्रस्तावमा कांग्रेसको पनि सहमति


विराटनगर, वैशाख २३

विराटनगरलाई सर्वसम्मत रुपमा प्रदेश १ को स्थायी राजधानी घोषणा गरिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रस्तावलाई सबै दलले सहमति जनाएपछि सर्वसम्मत रुपमा प्रस्ताव पारित भएको छ । स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने चर्चा चले पनि विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिदै नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोक्न सम्भव भएको हो ।

प्रदेश सभाको सोमबारको बैठकमा ६ जना सांसदहरु भने अनुपस्थित थिए । प्रदेश १ मा कुल ९२ जना प्रदेशसभा सदस्यहरु छन् । तीमध्ये ८६ जनाको उपस्थितिमा स्थायी राजधानी विराटनगरलाई राख्ने प्रस्ताव पारित भएको प्रदेश सभाले जानकारी दिएको छ । विराटनगरलाई स्थायी राजधानी तोकिए पनि विराट क्षेत्रको अवधारणा अनुसार संसद र कार्यपालिकाका कतिपय संरचना इटहरी र गोठगाउँसमेतलाई समेटेर बनाइने प्रस्ताव नेकपाले संसदमा लगेको थियो । प्रदेशको स्थायी राजधानी पारित भए पनि प्रदेशको नाम भने तय भएको छैन । नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ ।