जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १६:११

‘बीच्च बीच्चमा’ गीतबाट हिट बनेका गायक दुर्गेश थापा सार्वजनिक रुपमा माफी माग्दै हिरासतमुक्त


काठमाडौं, कात्तिक ५

विवादास्पद गितका कारण पक्राउ परेका गायक दुर्गेश थापा हिरासतमुक्त भएका छन् । मंगलबार काठमाडौं बालाजुबाट पक्राउ परेका उनले गाएको चिसो बियर भन्ने गित विवादमा आएपछि उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।

तिहारको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार थापाले गाएको उक्त बिबादास्पद गित युट्युबबाट हटिसकेको छ। ‘गायक थापाले सार्वजनिक रुपमा माफी माग्न तयार भएपछि उनलाई हिरासत मुक्त गरेका छौं ।’ महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने। थापाविरुद्ध देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

उक्त गीतमा धूमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको र यसले समाजलाई नकारात्मक सन्देश दिएको भन्दै आलोचना भएको थियो । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको हो । केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।