जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार ०८:२७

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली


काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुहुने छ ।

आर्थिक वर्ष ०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुने भएको हो ।

नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका क्रममा उब्जिएका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर त्यसबारे प्रष्ट पार्न लागेका हुन् ।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज मंगलवार सकिँदै छ । लगत्तै प्रधानमन्त्रीले त्यसबारे जवाफ दिने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

विपक्षीले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्तापक्षले बचाउ गरेका छन् । नीति तथा कार्यक्रममा नयाँपन आउनु पर्ने भए पनि त्यसो नभएको तर्क गर्दै कांग्रेसलगायतका दलले ६ वटा संशोधन दर्ता गराएका छन् ।

प्रधानमन्त्रीले आज विपक्षीले उठाएका यिनै प्रश्नहरुको सेरोफोरोमा रहेर जवाफ दिनुहुने छ ।  प्रधानमन्त्रीले जवाफ दिएपछि आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने संसद्को कार्यसूची छ ।