जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार ११:५६

दुई अध्यक्षबीच दैनिक भेटघाट र कुराकानी हुन्छ, कुनै समस्या छैन – कार्यवहाक प्रधानमन्त्री पोखरेल


विराटनगर, कात्तिक ८

कार्यवाहक प्रधानमन्त्री एंव नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको स्पष्ट पार्नुभएको छ । उहाले पार्टीमा सस्थागत रुपमा आलोपालो प्रधानमन्त्री बन्ने भन्ने सहमति नभएको स्पष्ट पार्नुभएको हो ।

विराटनगरमा आज विहान पत्रकारसँग कुरा गर्दै उहाले पार्टी भने सहमतिका आधारमा चलिरहेको स्पष्ट पार्नुभयो । ‘सहमतिकै आधारमा पार्टी चलेको छ र सहमतिअनुसार नै दुई जना अध्यक्ष बनेर चलिरहेको छ,’ कार्यवहाक प्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘आलोपालो प्रधानमन्त्री बन्ने विषयमा कुनै किसिमको संस्थागत सहमति भएको छैन ।’

यद्यपी उहाले आवश्यकताअनुसार पार्टीले जो कोही नेतालाई कामको जिम्मेवारी दिन सक्ने भने बताउनु भयो । पार्टी एकता राष्ट्रिय आवश्यकता र जनताको चाहनाले भएको हुँदा यसलाई आँच पुर्‍याउने काम कसैले गर्न नहुने पोखरेलको भनाइ थियो ।

‘दुई वटा पार्टी अलग–अलग पृष्ठभूमिबाट आएर एकता भएकाले विभिन्न विषयमा छलफल र भनाभन हुन सक्छ त्यसलाई अस्वाभाविक नमान्न सबैलाई आग्रह छ,’ उहाले भन्नुभयो, ‘पार्टीका दुई अध्यक्षबीच कुनै किसिमको विवाद नभएको र दुबै जनाको दैनिक भेटघाट र कुराकानी भइरहेकोले सञ्चारमाध्यममा आए जस्तो कुनै किसिमको विवाद र असमझदारी छैन ।’

कार्यवहाक प्रधानमन्त्री पोखरेलले तत्कालीन फोरम कार्यकर्ताले गौर हत्याकाण्डमा माओवादीका नेता कार्यकर्त्तालाई गरेको विषयमा छानबिन गरी कारबाही हुने बताउनु भयो । ‘गौर हत्या काण्डको पनि छानबिन हुन्छ,’ उहाले भन्नुभयो, ‘विगतमा भएका जुनसुकै अपराधहरु तथ्यसहित अगाडि आयो भने छानबिन गरी कारबाही हुन्छ ।’

कांग्रेस नेता मो. अफ्ताव आलम पक्राउ गर्नु कुनै प्रतिशोध नभएको उहाले स्पष्ट पार्नुभयो । कांग्रेस नेताहरुले नेकपा सरकारले प्रतिशोध साँध्न आफ्ना नेता आलमलाई पक्राउ गरेको भन्दै विरोध गर्दै आएको छ। पोखरेलले भने सर्वोच्च अदालतले दिएको आदेश सरकारले कार्यान्वयन गरेको जानकारी दिनुभयो। यसमा कांग्रेससँग प्रतिशोध साँध्नुपर्ने कुनै कारण नभएको प्रष्ट पार्नुभयो ।