Untitled Document

हवाई यातायात नियन्त्रक इलाको अनुभव : यो पेशाको शब्दकोषमा गल्ती भन्ने शब्दै छैन

दुर्गा कार्की / काठमाडौं

ईला उपाध्यायले २२ वर्ष भयो हवाई यातायात नियन्त्रक अर्थात एयर ट्राफिक कण्ट्रोलर (एटीसी) भएर काम गरेको। उनले तालिम लिँदा १२ जनामा २ जना मात्रै थिए महिला। एकजना साथीको आफन्त विमानस्थलमै काम गर्थे त्यसबेला। तीनै साथीको सहयोगमा उनले एटीसी पदका लागि आवेदन दिइन् र छानिइन् पनि।

उतिवेलै ईलालाई साथीको लै लै मा लागेर आएपनि सहि ठाउँमा काम पाएँछु भन्ने लागेको थियो। तर विस्तारै किन हो अलि अलि खिन्नता पनि भयो। इला भन्छिन, ‘विमानस्थलको काम भन्ने बित्तिकै मान्छेहरू हवाइजहाज, पाइलट र एअर  सम्झन्छन्। त्यो काम अलि ‘ग्लामरस’ भएर हो की ?’

हवाई यातायात नियन्त्रक (एटीसी) ले गर्ने काम शतप्रतिशत प्राविधिक हो। यस्तो काम गर्नेमा महिला पनि छन् भन्ने खासै धेरैलाई थाहा छैन। धेरै क्षेत्रमा महिलाको सहभागिता वहस र छलफलको बिषय बन्दा पनि यो क्षेत्रवारे कसैले चर्चा नगरेकोमा ईलालाई अचम्म लागेको छ। उनले भनिन्, ‘हामी त अँध्यारो मै छौँ। हामीलाई अहिलेसम्म मिडियाले पनि देखेको थिएन।’

यो क्षेत्रमा महिला सख्याँ थोरै छ। धेरैलाई जानकारी पनि नहुने र यसकामको वारेमा प्रचार पनि नभएर महिलाहरु यो क्षेत्रमा नआएको हुनसक्ने इलाको अनुमान छ। उनी भन्छिन, ‘महिलाका लागि यो एकदम सम्मानजनक काम हो। अन्य सरकारी सेवामा भन्दा सुविधा पनि धेरै छ।’

उनीहरूले ३ सिफ्टमा काम गर्नुपर्छ। विहान ६ वजेदेखि राती १२ बजेसम्म। कुनैपनि सिफ्टमा काम गर्दा ६ घण्टा भन्दा बढी काम गर्नुपर्दैन। आफ्नो ड्युटी सकिएपछि त्यो दिनका लागि फेरी कामको तनाव हुँदैन। ‘टावरबाट निस्कने वित्तिकै कामको टेन्सन सकिन्छ, त्यसैलेपनि महिलाका लागि एकदम उपयुक्त काम हो यो’ ईला भन्छिन्।

२०४९ सालमा ईलाले हवाई यातायात नियन्त्रक भएर काम गर्न थाल्दा घरेलु उडानमा तत्कालिन शाही नेपाल वायु सेवा निगमका केही जहाज र अन्तराष्ट्रिय उडानमा थाई, पीआइए लगायत थोरैमात्र एअरवेवहरु सेवामा थिए। काम निकै तनावपुर्ण भएपनि एकदम व्यस्त हुनुपर्दैनथ्यो। अहिले त एक दिनमै ३ सय भन्दा बढी घरेलु र ८० अन्तर्राष्ट्रिय एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्छन्।

अर्की हवाई यातायात नियन्त्रक रीता श्रेष्ठ भन्छिन्, ‘काम अत्यन्त ‘टफ’ छ।’ श्रेष्ठलाई आफनो काममा अत्यन्त आनन्द आउँछ। किन होलारु उनी भन्छिन, ‘आफूले कुरा गरिरहेको जहाज एयरपोर्टमा ओर्लिरहेको हुन्छ , कुनै उडीरहेको हुन्छ। कुनै उड्न तयारी अवस्थामा हुन्छ। आफ्नै आँखा अगाडी आफूले दिएको निर्देशन पाइलटले पछ्याईरहेकोे देख्दा खुब आनन्द लाग्छ।’

हवाई यातायात नियन्त्रक कक्ष

‘उडी रहेको जहाज र हजारौँको जीवन हाम्रो हातमा हुन्छ। यति छिटो निर्णय लिनुपर्छकी अलिकतिमात्रै अलमल भयो भने गयो। रीता भन्छिन्, ‘जीवनको सवाल छ। त्यसैले यो काम शारीरिक भन्दा पनि मानसिक हो। यसैबाट थाहा हुन्छ यो काममा कति तनाव हुन्छ।’ उनको विचारमा, एउटा डाक्टरले अपरेशन गर्दा गल्ती गर्‍यो भने एकजनाको ज्यान जान्छ, हाम्रो सानो गल्तीले सयौंको ज्यान जानसक्छ।’

आफुहरूले हातका औंला औँलामा विकल्पहरू लिएर बस्नुपर्ने बताउँछिन अर्की एटीसी सरिता सिपाही। ३ वर्ष हवाई यातायात नियन्त्रक भएर काम गरेकी उनी अहिले सूचना शाखामा कार्यरत छन्। सिपाही भन्छिन्, ‘हवाई यातायात नियन्त्रकले गल्ती गर्नु त के सोच्नु पनि हुँदैन। यो पेशाको शब्द कोषमा गल्ती शब्दै छैन।’

सिपाहीका अनुसार, अपरेसन भनेको नरोकिने काम हो। त्यसैले यसमा ‘ह्याण्ड ओभर’ र ‘टेक ओभर’ मात्रै हुन्छ, काम बन्द हुँदैन। उनी भन्छिन, ‘एउटा सानो गल्तीले ठूलो ‘डिज्याष्टर’ हुन्छ, हजारौंको ज्यान जान सक्छ।’ ‘जहाज पाइलटका हातमा हुन्छ तर, उसले पुरा आकाश देख्न सक्दैन, हामीले पाइलटलाई आकाश देखाउँछौ’ रीता भन्छिन् ‘यो काम तालिमले सिकाउँछ। तर, समस्यासँग जुध्ने तरिका चाहिँ अनुभवले दिन्छ।’

अर्की एयर ट्राफिक कण्ट्रोलर दिप्ता पौडेल भन्छिन्, ‘परिस्थिती सम्हाल्न हामी एकदम ‘अपडेट’ हुनुपर्छ।’ तनावपूर्ण अवस्थामा काम गर्नसक्नु एटीसीको विशेषता हो। त्यसो त एकदम व्यस्त ट्राफिक कुनै अवरोधविना सम्हालेपछिको क्षण चाहिँ साह्रै सुखद हुन्छ। पौडेलका लागि चवन्न हप्ता लामो तालिम सकेर पहिलो पटक भीएचएफ मेशिन छोएको समय सवै भन्दा सुखद र खुशीको क्षण थियो। त्यतिखेल उनलाई लाग्यो ‘मैले पनि ठूलो जिम्मेवारी पाएँ।’

१० वर्षअघि एयर ट्राफिक कण्ट्रोलरले ५४ हप्ताको तालिम लिनुपर्थ्यो। अहिले यो तालिम अवधि घटाएर छ महिनाको बनाइएको छ।
अहिले त्रिभुवन विमानस्थलमा ८७ जना एटीसीमध्ये १२ जना र विभिन्न जिल्लाका ४ वटा विमानस्थलमा ७ जना गरेर १९ जना महिला एयर ट्राफिक कन्ट्रोलर छन्। २०७० को तेस्रो व्याचमा ७ महिला तालिममा सहभागी भए भने ७१ मा चौँथो र पाँचौ व्याचको तालिममा पनि ७ महिला सहभागी छन्। अहिले चौथो व्याच तालिमको अन्तिम चरणमा छ भने पाँचौको सैद्धान्तिक कक्षा चलिरहेको छ।

यो पेशामा जनशक्ति अभाव भएका कारण वर्षमा दुई वटा तालिम सञ्चालन गरिएको नागरिक उड्डयन प्रतिष्ठानका प्रमुख सुर्यवहादुर थापा बताउँछन्। यो पेशाका बारेमा प्रचार प्रसार हुन नसक्दा आवेदन दिनेहरूको संख्या पनि थोरै हुन्छ। ‘२० वर्ष पहिला आवेदन दिनेको संख्या ३ सय हुन्थ्यो। अहिले पनि यत्ति नै हुन्छ’ थापा भन्छन, ‘यसमा पनि महिला आवेदक एकदम थोरै।’

(पत्रकार कार्कीले २०७२ भदौ १४ गते तयार पारी प्रकाशन भएको यो समाचार महिला खवरबाट साभार गरी पुनः प्रकाशन गरिएको हो ।)

March 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *