Untitled Document

राष्ट्रपति निर्वाचनमा मतदान जारी : प्रधानमन्त्री ओलीसहित शीर्ष नेताले गरे मतदान

काठमाडौं, फागुन २९

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा मतदान जारी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार संघीय संसद र प्रदेशसभाका सदस्यहरुले मतदान गरिरहेका हुन ।

अहिलेसम्म ६५ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेको आयोगको भनाई छ । पहिलो मतदान संघीय संसद्का सदस्य जिपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गर्नुभएको थियो । संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको छ ।

मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गर्नुभएको थियो । मतदानको समय अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा हुनुहुन्छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ ।

निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता छन् ।

यस्तो छ मतदानको झलक : तस्विर : रासस

March 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *