Untitled Document

राष्ट्रपति निर्वाचनको मतगणना शुरु, यी १८ जनप्रतिनिधिले भोट हालेनन् (नामसहित)

काठमाडौं, फागुन २९

राष्ट्रपति चयनका लागी भएको निर्वाचनको मतगणना शुरु भएको छ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि केही बेर अघि सम्पन्न भएको मतदानमा कुल मतदाता मध्ये ८ सय ६२ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद तथा प्रदेशसभाका ८ सय ८० मतदाता थिए । संघीय संसदका ३ सय ३१ मध्ये ३ सय २६ र प्रदेश सभाका ५ सय ४९ मध्ये ५ सय ३६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपतिका लागि वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा हुनुहुन्छ । भण्डारीलाई वाम गठबन्धनसहित राष्ट्रिय जनता पार्टी राजपा नेपाल र संघीय समाजवादी फोरमको समेत समर्थन रहेकाले उहाँ पुनः राष्ट्रपतिमा दुई तिहाई मतका साथ निर्वाचित हुने निश्चित छ ।

यसैबीच संघीय संसदका पाँच जना भने मतदान प्रक्रियामा सहभागी भएनन् । कांग्रेसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टीका रेशम चौधरी र रमेशप्रसाद यादव, नेमकिपाका प्रेम सुवाल र नयाँ शक्तिका बाबुराम भट्टराई मतदान प्रक्रियामा अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ । नयाँ शक्ति र नेमकिपाले राष्ट्रपति निर्वाचन प्रक्रिया नै बहिष्कार गरेका हुन् । कांग्रेसका देव र राजपाका यादव पारिवारीक तथा राजपाका चौधरी अस्वस्थताका कारण सहभागी नहुनु भएको हो ।  मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु हुनुहुन्छ ।

कानूनले संघीय संसद सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता हुने व्यवस्था छ । आयोगले संघीय संसदका ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ जनाको अन्तिम नामावली प्रकाशित गरेको छ । जसमा नामावली प्रकाशनपछि मात्रै शपथ ग्रहण गर्न पाएका राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित ३ सदस्यले मतदान गर्न पाएका थिएनन् । कुल मतदाताको ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् ।

March 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *