जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १७:०९

प्रहरीले सरकारी वकिललाई बुझायो महराको अनुसन्धान प्रतिवेदन, दोषी ठहरसहित निकाल्यो यस्तो निश्कर्ष


काठमाडौं, कात्तिक ८ । महानगरीय प्रहरी परिसर काठमाडौंले तत्कालीन सभामुख कृष्णबहादुर महराविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । परिसरले आज महराबिरुद्धको अनुन्धान प्रतिवेदन बुझाउँदै जवर्जस्तीकरण उद्योग गरेको निश्कर्षसहित उनीमाथि कैद तथा जरिवानाको माग गरेको छ ।

प्रहरीको प्रतिवेदनमा २० दिन लामो अनुसन्धानबाट महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको निश्कर्ष निकालिएको छ । गत असोज १९ गते पक्राउ परेका महरालाई तेस्रो पटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट आज प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको हो । ‘घटनास्थलको मुचुल्का, जाहेरी तथा हालसम्म जाँचबाट आएका रिपोर्टहरूले जबरजस्ती करणी उद्योग गरेको देखिन आएको छ,’ सरकारी वकिलको कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदन उधृत गर्दै एक प्रहरी अधिकृतले जनताटाइम्ससँग भने ।

प्रतिवेदनमा महरालाई मुलुकी अपराध संहिता २०७४ को बलात्कार प्रयास सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ । सार्वजनिक पदमा रहेर महरा बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएकाले त्यसउपर पनि थप कारबाहीको माग गरिएको छ । शाहीले बलात्कारको आरोप लगाएपछि पक्राउ परेका महराले भने प्रहरीसमक्ष इन्कारी बयान दिएका छन । ‘अधिकांश बयान इन्कारी छ, प्रमाणले पुष्टि गर्दा पनि अभियुक्तले स्वीकार गरेको अवस्था देखिदैन बयानमा,’ प्रहरी स्रोतले भन्यो । तर प्रहरीले आरोपीले इन्कारी बयाद दिएपनि प्रमाणले जवरजस्ती करणी उद्योग गरेको प्रमाणित भएको प्रतिवेदनमा किटान गरिएको छ ।

महरा असोज १२ गते बा २०च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेका थिए । त्यसक्रममा महराले जबरजस्ती करणी प्रयास गरेको शाहीले जाहेरीमा उल्लेख गरेकी छिन । प्रहरीमा किटानी जाहेरी दिएकी शाहीले त्यसयता आफ्नो भनाई फेर्दै आएकी छन । उनले अदालतमा समेत महराको बचाउमा केही नगरेको, त्यस दिन कोठामै नआएको तर प्रहरीले जवरजस्ती निवेदनमा सही गराएको भन्दै निवेदन दिएकी छन । प्रहरीले शाहीको सो निवेदनको बावजुद महरालाई बलात्कारी नै ठहर गरी अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सरकारी वकिलको कार्यालयमा आजैबाट प्रतिवेदनमाथि अध्ययन अघि बढाएको छ । तर आज शुक्रवार परेकोले अव महराको मुद्दा तिहारपछि मात्रै अघि बढने छ । आइतबारदेखि तिहार बिदा सुरू हुन्छ । उनको मुद्दा चलाउने नचलाउने निर्णय गर्न सरकारी वकिललाई अझै ६ दिनको समय छ । कात्तिक १४ गते महरामाथि मुद्दा चलाउने नचलाउने निर्णय गरिसक्नुपर्छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि जबरजस्ती करणी उद्योगमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान प्रतिवेदनमा महरामाथि जबजरस्ती करणी उद्योगमा कैद तथा जरिवाना माग गरिएको छ ।

अनुसन्धानका क्रममा शाहीको कोठामा बरामद भएको महराको फुटेको चश्मा, गिलास, बोत्तल लगायतको फरेन्सिक जाँच गरिएको छ । केही रिपोर्टहरू अझै आइनसकेको प्रहरीले जनाएको छ । फरेन्सिकबाट रिपोर्टको आधिकारिकता पुष्टि गर्न महराको डिएनए परीक्षण गर्ने प्रहरीको तयारी छ । जिल्ला अदालत काठमाडौंले महराको रगत झिकेर डिएनए परीक्षण गर्न बिहीवार नै आदेश दिइसकेको छ ।

रोशनी शाहीले बलात्कारको आरोप लगाएपछि महराको सभामुख पद गुमिसकेको छ भने उनको पार्टी नेकपाले सांसदबाट समेत राजीनामा दिन निर्देशन दिएको छ । सभामुख जस्तो ब्यक्ति आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीको कोठामा राती पुग्नु र भोलिपल्टै बलात्कारको आरोप लाग्नु गम्भीर घटना भएको भन्दै नेकपाले सो निर्देशन दिएको थियो । तर महराले सांसद पदबाट राजीनामा नदिने अडान लिइसकेका छन ।

मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ । अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । प्रहरीले सोही आधारमा कैद सजाँय माग दावी गर्दै ओहदामा बसेर गरेको अपराधमा थप सजाँयको माग दावी गरेको छ ।