जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १५:२४

मुख्यमन्त्री पौडेलद्वारा देवघाटधाम र बागेश्वरी क्षेत्रको निरीक्षण


भरतपुर, कात्तिक ९

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देवघाटधाम र बागेश्वरी क्षेत्रको निरीक्षण गर्नुभएको छ । आज बिहान उहाँले सो क्षेत्रको निरीक्षण गर्दै वर्तमान अवस्थाका बारेमा जानकारी लिनुभएको हो । मुख्यमन्त्री पौडेलले देवघाटमा कल्पबास सडक, दुई प्रदेश जोड्ने मैत्रीसाँघु निर्माणका सम्बन्धमा चासो देखाउनु भएको थियो ।

मुख्यमन्त्री पौडेललाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले वर्तमान अवस्था र भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो । सो क्षेत्रको निरीक्षणपश्चात मुख्यमन्त्री पौडेलले देवघाट क्षेत्रलाई प्रदेश नं ३ ले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले देवघाटको विकास निर्माणमा एकरुपता र निर्माण संहिता बनाउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले बागेश्वरी क्षेत्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै योगी नरहरिनाथ प्राकृतिक अस्पताल प्रदेश नं ३ कै नमूना प्राकृतिक अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेलगायतको सहभागिता रहेको थियो ।