जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार ०८:१९

दुई महिनाभित्र लाप्राक एकीकृत नमुना बस्ती हस्तान्तरण गर्ने एनआरएनए अध्यक्ष पन्तको घोषणा


गोरखा,कात्तिक १० । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीको काम दुई महिनाभित्र सकेर हस्तान्तरणको तयारी भइरहेको बताउनु भएको छ । गृहजिल्ला गोरखा आउनुभएका पन्तले पत्रकारसँगै संक्षिप्त कुराकानी गर्दै बस्तीको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । ‘गैरआवासीय नेपालीको त्यत्रो पैसा परेको छ, त्यतिकै छाड्न मिल्दैन,’ पन्तले भन्नुभयो, ,‘गाउँपालिकासँग मिलेर कसरी संरक्षणको काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ ।’

पन्तले सम्झौता अनुसारको काम लगभग सकिएको बताउनु भयो । ‘केही पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरेर गर्नुपर्ने काम छन, अब बाँकी काम के–के छन्, एक हप्ताभित्र पहिचान गर्छौं, दुई महिनामा पूरै कम्प्लीट गरेर बस्ती हस्तान्तरण हुन्छ,’ पन्तले भन्नुभयो । पाँच सय ७३ मध्ये ७० घरको शौचालयको काम सकिएको उहाँको भनाई छ । ‘तीन सय शौचालय खाल्डो खनेर ढलान भएको छ, केही घरमा मात्र शौचालयका काम बाँकी छ, बाँकी काम कसरी पूरा गर्ने छलफलमा छौ,’ पन्तले भन्नुभयो ।
एनआरएनए व्यवस्थापन पक्षबाट पछि नहटेको जानकारी पनि उहाँले दिनभयो । पन्तका अनुसार बस्ती भित्रको सडक, घेराबार लगायतका संरचनाको निर्माणका लागि पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरेर काम अघि बढाइने छ । लाप्राकको पुरानो बस्ती जोखिममा परेपछि स्थानीयका लागि एनआरएनएले गुप्सीपाखामा बस्ती निर्माण गरिरहेको छ । तीन वर्षसम्म बस्ती निर्माणले पूर्णता नपाएको भन्दै एनआरएनएको आलोचना हुँदै आएको छ ।