जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १४:०९

राष्ट्रपतिको सम्बोधनमा भुलचुकले होइन, जानीबुझी मेरो सरकार राखिएको हो : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सम्बोधनमा मेरो सरकार भन्ने शब्दावली सुबिचारित रुपमा राखिएको प्रष्ट पार्नुभएको छ । संघीय संसदको प्रतिनिधिसभामा आज नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्ने सम्बोधन सही रहेको प्रष्ट पार्नुभएको हो ।

‘राष्ट्रपतिको सम्बोधनमा मेरो सरकार भन्ने शब्द भुलचुकले होइन, सुबिचारित ढंगले जानीबुझीकन राखिएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राष्ट्रपतिले मेरो सरकार भनेरै सम्बोधन गर्नुपर्छ । तिमी भन्ने आँट पनि छैन, तपाई भन्न मन पनि छैन भनेर बीचबीचबाट सम्बोधन गर्ने होइन, राष्ट्रपतिले त्यसरी बोल्ने होइन, ढुक्कले भन्ने हो, मेरो देश, मेरो सरकार भनेर ।’

उहाँले राष्ट्रपतिको सम्बोधनको बिषयलाई नीति कार्यक्रममाथि कुनै बिरोध नपाएरु गरिएको आलोचनाको रुपमा ब्याख्या गर्नुभयो । ‘गरिमामय संसदले पारित गरेको कानूनलाई राष्ट्रपतिबाट लालमोहोर लागेपछि कानून लागू हुन्छ । राज्य ब्यवस्थाको सर्वाेच्च र सम्मानित संस्था हो । अभिभावकीय भुमिकाको संस्था हो, त्यो संस्था साझा हुन्छ । त्यसकारण त्यो संस्थाले कस्को सरकार बन्यो भन्ने हुँदैन, जुन सरकार बन्यो, त्यो राष्ट्रपतिको सरकार हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

उहाँले प्रतिपक्षले पनि मेरै सरकार भन्दा फरक नपर्ने बताउनु भयो । ‘राष्ट्रप्रमुखले आफ्नो देशको सरकारलाई मेरो सरकार भन्नु एकदम ठीक छ । यसमा अलमलिनु हुँदैन । साथीहरुलाई के लागेको देखियो भने निरंकुश तन्त्रमा मेरो सरकार भन्नु ठीकै हो, लोकतन्त्रमा मेरो सरकार भन्न पाइँदैन । तर राष्ट्रपतिको आफ्नै सरकार हो । प्रतिपक्षले पनि आफ्नै सरकार भन्दा हुन्छ । बजेटमा आउँछ, त्यसपछि त मेरो सरकार, आफ्नै सरकार भन्नैपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले लोकतन्त्रको बिषयमा आलोकाँचो कुरा गरेर आफ्नो इतिहासलाई नै बदनाम नगर्न कांग्रेसलाई सुझाव दिनुभयो । ‘कांग्रेस जस्तो पार्टीले पनि लोकतन्त्रको सवालमा सारो आलोकाँचो काम गर्न मिल्दैन कि,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।