जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार १७:३०

तरुण दलको स्थापना दिवसमै कांग्रेसका शिर्ष नेता पनि विभाजित


काठमाडौं, कात्तिक १०

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको विभाजन पार्टीमा पनि देखिएको छ । बीपी कोइरालाको प्रेरणामा २०१० कात्तिक १० मा स्थापना भएको तरुण दल ६७औँ वर्षमा आईपुग्दा दुई समुहमा विभाजन भएको छ ।

यो विभाजनलाई पार्टीका शिर्ष नेताले पनि आधिकारिकता प्रदान गरेका छन् । अध्यक्ष जीतजंग बस्नेत समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा कार्यक्रम गरेको छ भने महासचिव भुपेन्द्रजंग शाही समूहले सामखुसीमा कार्यक्रमको आयोजना गरेको छ ।

अध्यक्षको कार्यक्रममा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, बालकृष्ण खाँड लगायत सहभागी हुनु भएको थियो । महासचिवको कार्यक्रममा भने डा. रामशरण महत, शेखर कोइराला, गुरुराज घिमिरेसहितका नेताहरु उपस्थित हुनु भएको थियो । कांग्रेसका अधिकाशं शिर्ष नेता जन्माउने तरुण दल अहिले दुई जनाको भरमा चलिरहेको छ । तर तिनै दुई जनाले पनि दुई गुट बनाएका छन् ।

एकले अर्कोलाई कारवाही गर्दै संगठनबाट निकालिपनि सकेका छन् । ४ वर्षे कार्यकाल सकिन केही महिना बाँकी रहदापनि कांग्रेस सभापति देउवाले संगठनलाई पूर्णता दिन सकेका छैनन् । तर, सोही कार्यक्रममा पुगेर उनले सरकारविरुद्ध प्रजातान्त्रिक अधिकार खोस्न लागेको बताएका छन् । म्याद सकिन लागेको तरुण दललाई पूर्णता नदिएर आन्तरिक लोकतन्त्र र प्रजातन्त्र नै कमजोर बनाएर देउवा त्यसलाई कहिले नदेख्ने तर, सरकारकाविषयमा जे पनि देख्न सक्ने भएको तरुण दलका नेताहरु बताउछन् । नेपाल तरुणदलको म्याद आगामी मंसीर ३ गते सकिँदैछ ।

महासचिव समूहको कार्यक्रममा नेता शेखर कोइरालाले तरुण दलको विवाद स्वभाविक भएको बताउदै भन्नुभयो, ‘पार्टीमा नै विवाद छ भने तरुण दलमा विवाद हुँदैन भन्ने होइन ।’ तरुण दलको स्थापना दिवस एउटै ठाउँमा मनाउने वातावरण मिलाउन आफूहरुले पार्टी सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेको तर सबै गुटमा रमाएको भनाई राख्नु भयो । यद्यपि तरुण दलको अध्यक्षलाई महासचिव हटाउने अधिकार नभएको स्पष्ट सन्देश उहाले कार्यक्रमबाट प्रवाह गर्नुभयो ।