जनता टाइम्स

११ कार्तिक २०७६, सोमबार ११:१८

त्यो चीज मलाई मेरो अध्यक्ष प्रचण्डले बताउनु भएको छैन


हामी सँगै बस्यौं, खाजा खायौं। हामी राजनीतिक पार्टीका नेताहरु सँगै बस्दा मेरो भैंसी ब्यायो कि ब्याएन, मेरो धान कति फल्यो, मेरो घरघडेरी के भयो भन्ने कुरा हुँदैन। हुने त राजनीतिक कुरा नै हो। अहिले हामी जुनखालको ऐतिहासिक ठाउँमा आएका छौं, त्यसबारेमा अध्यक्षले आफ्नो बुझाई विश्लेषण राख्नुभयो। मैले सुनें, मलाई मनपर्यो। मैले पनि थाहा पाएका, जानेका कुरा उहाँलाई सुनाएँ। उहाँले पनि मन पराउनु भयो

काठमाडौं, कात्तिक ११ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग दशैं लगत्तै भएको लामो छलफलबारे मुख खोल्नुभएको छ । बडादशैंको टीकाको भोलिपल्ट पोखरेलको धापासीस्थित निवासमै पुग्नुभएका अध्यक्ष प्रचण्डसँगको छलफललाई लिएर सञ्चार माध्यममा थरिथरीका समाचार आएपछि नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले एक अनलाइनलाई लामो अन्तरवार्ता दिँदै प्रष्ट पार्नुभएको हो ।
पोखरेलका अनुसार त्यस दिन अध्यक्ष प्रचण्डसँग पार्टीको कार्यदिशा र आगामी बाटोको बिषयमा खुलेर छलफल भएको थियो । ‘हामीले छलफल गर्यौं उहाँ अध्यक्ष हो, उहाँलाई लागेका कुरा एकजना कमरेडसँग, कमिटीका सदस्य साथीसँग गर्ने हिसावले हामीले आन्तरिक विषयमा छलफल गर्नु स्वाभाविक भयो। उहाँ कुनै गुनासो गर्न आउनु भएको होइन, नेपाल खवरसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको छ । पोखरेलले छलफलका क्रममा अध्यक्ष प्रचण्डले आफ्नो कुरा मन पराउनु भएको र प्रचण्डको कुरा आफूलाईचित्त बुझेको खुलासा पनि गर्नुभयो ।

‘हामी सँगै बस्यौं, खाजा खायौं। हामी राजनीतिक पार्टीका नेताहरु सँगै बस्दा मेरो भैंसी ब्यायो कि ब्याएन, मेरो धान कति फल्यो, मेरो घरघडेरी के भयो भन्ने कुरा हुँदैन। हुने त राजनीतिक कुरा नै हो। अहिले हामी जुनखालको ऐतिहासिक ठाउँमा आएका छौं, त्यसबारेमा अध्यक्षले आफ्नो बुझाई विश्लेषण राख्नुभयो। मैले सुनें, मलाई मनपर्यो। मैले पनि थाहा पाएका, जानेका कुरा उहाँलाई सुनाएँ। उहाँले पनि मन पराउनु भयो। हामी बस्दा आफ्नै कमिटी, आफ्नै पार्टी लाइफको बारेमा सेयर गर्छौं।’

अध्यक्ष प्रचण्डले हाम्रो बीचमा यस्तो सहमति भएको छ भनेको मलाई थाहा छैन। आधा आधा, त्यो चीज मलाई मेरो अध्यक्ष प्रचण्डले बताउनु भएको छैन, अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि बताउनु भएको छैन। कसैले बताउनु भएको छैन

नेकपाभित्रका बैचारिक नेताका रुपमा स्थापित हुनुभएका उपप्रम पोखरेलले पार्टीका दुई अध्यक्षबीच कुनै तिक्तता नरहेको र दुवै अध्यक्षले आलोपालो नेतृत्वको बिषयमा आफूलाई अहिलेसम्म नबताएको पनि प्रष्ट पार्नुभएको छ ।अध्यक्षदेवय ओली र प्रचण्डबीच एकताकै बेला केही सहमति भएको छ रे नि भन्ने जिज्ञासामा पोखरेलले भन्नुभयो, ‘अध्यक्ष प्रचण्डले हाम्रो बीचमा यस्तो सहमति भएको छ भनेको मलाई थाहा छैन। आधा आधा, त्यो चीज मलाई मेरो अध्यक्ष प्रचण्डले बताउनु भएको छैन, अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि बताउनु भएको छैन। कसैले बताउनु भएको छैन।’