जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १५:४३

सरकारको नीति कार्यक्रम पारित, कांग्रेस सांसदले गरे प्रधानमन्त्री ओलीको अपमान


काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले प्रश्न राख्ने क्रममा आपत्तिजनक शब्द प्रयोग गरेकोमा आफ्नो आपत्ति जनाउनु भएपछि कांग्रेस सांसदहरुको अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको हो ।

प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा सुरुमै आपत्तिजनक शब्द प्रयोगबारे आफ्नो ध्यानाकर्षण गराउनु भएको थियो । सोही बिषयलाई लिएर कांग्रेस सांसदहरुले आफूहरुले बोलेको बिषयको बचाउ गर्दै प्रधानमन्त्री ओलीलाई जवाफ दिनबाटै अवरोध गरेका हुन । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदहरुको अवरोधबीच सवै संशोधनलाई निर्णयार्थ प्रस्तुत गरी अस्वीकृत भएपछि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुभयो । प्रस्ताव बहुमतले पारित भएको हो ।

यसअघि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आपत्तिजनक शब्दमाथि आफ्नो आपत्ति जनाउनु भयो । कांग्रेसका सांसदहरुले प्रधानमन्त्री ओलीले आपत्तिजनक शब्दहरुमाथि आपत्ति जनाउँदा उठेर होहल्ला र नारावाजी गर्दै अवरोध गरेका थिए ।

होहल्लाबीच संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री ओलीले ‘प्रश्न सोध्न पाइन्छ, अपशब्द बोल्न पाइँदैन भन्नुभयो ।’ उहाँले रेकर्ड सुन्नसमेत आग्रह गर्नुभयो । ‘सम्मानीय सभामुख महोदय, प्रश्न सोध्ने क्रममा कुन प्रकारका शब्दहरु प्रयोग गरिएका छन, रेकर्ड खोलेर सुनियोस । प्रश्न सोध्ने अधिकार हो, तर अपशब्द बोल्ने अधिकार होइन,’ प्रधानमन्त्रीको भनाई थियो ।