जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १४:१५

तिहारमा पनि निर्वाचनकै रौनक


अर्घाखाँची, कात्तिक १२ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा तिहारमा पनि निर्वाचनको रौनक देखिएको छ । जिल्लाका अन्य स्थानमा तिहारको चहलपहल भएपनि खनदहमा भने तिहारको भन्दा पनि निर्वाचनको चहलपहल बढी छ । मालारानी गाउँपालिका–३ खनदहमा वडाअध्यक्ष पदको लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएपछि निर्वाचनको चहलपहल बढेको हो ।

स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष जिवनकुमार चौहानको २०७४ को पुसमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परी निधन भएको थियो । खनदह र मालारानीमा मात्र होइन। जिल्लाको सदरमुकाम सहितका गाउँगाउँमा पनि निर्वाचनमा उम्मेदवार को हो रु चुनाव कसले जित्छ ? भन्नेर बहस भइरहेका छन ।

वडा अध्यक्षको निर्वाचन भएपनि अर्घाखाँचीमा यो निर्वाचनलाई नेकपा र नेपाली कांग्रेसले आफ्नो प्रतिष्ठाको लडाईंसँग जोडेका छन । तत्कालीन एमाले मात्रैले जितेको नेकपाले आफ्नो पकड कायम राख्न चाहेको छ । आफैँ भित्रको कारणले गएको निर्वाचनमा हारेको निष्कर्ष निकालेको कांग्रेसले यो निर्वाचन जित्ने अभियानमा लागेको छ । नेकपाले यमलाल खनाललाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको छ । नेकपा मालारानी गाउँपालिकाका सदस्य खनाललाई वडा कमिटीले सिफारिस गरेको र त्यही नामनै टुंगो लाग्ने नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जनताटाइम्सलाई बताउनुभयो ।

कांग्रेसले पनि स्थानीय तहको निर्वाचनमा त्यही वडाबाट अध्यक्ष पदमा पराजित भएका नेपाली कांग्रेस मालारानी गाउँपालिका संयोजक शोभाखर खनाललाई उठाउने जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले बताउनु भयो । कसलाई उठाउने भन्ने निर्णय नभएपनि गएको निर्वाचनमा जम्मा ३६ भोटले पराजित भएका युवा नेता शोभाखरको राम्रो माहोल भएकाले उनी उम्मेदवार हुने जानकारी मुस्कानले दिनुभयो ।