जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १७:२६

पत्नीलाई दिदी, छोरालाई भाञ्जा बनाएर दोस्रो बिहे गर्न खोज्दा…


रौतहट । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ निवासी ३५ वर्षीय वीरबहादुर स्याङतान बेहुलीको घरबाटै पक्राउ परेका छन । श्रीमतीलाई दिदी र छोरालाई भाञ्जा बनाएर जन्तीसहित रौतहट आइपुगेको स्यांतानलाई प्रहरीले बिहेका लागि तयार भएकी केटीको घरबाटै पक्राउ गरेको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ की एक महिलासँग विवाह गर्ने क्रममा उनी पक्राउ परेका हुन । दोस्रो विवाह गर्न रौतहट पुगेका स्याङतानले श्रीमतीलाई दिदी र छोरालाई भञ्जा बनाएर जन्ती लिएर आएको प्रहरीको भनाई छ । वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेका उनी चार वर्षदेखि चन्द्रपुर नगरपालिकाकी एक युवतीसँग फेसबुकमा प्रेम सम्बधमा थिए ।

केटी पक्षले २३ (सोमबार) गते नै विवाहको तयारी गरे पनि स्याङतान २४ गते बिहान आइपुगेका थिए । सामान्या भेषमा आएका उनले बेहुलीका लागि कुनै सामान ल्याएका थिएनन । उनको अवस्था देखेपछि शंका लागेर स्थानीयले गाउँमा नै थुनेर राखेका थिए । मंगलबार बिहान केरकार गर्दा उनीसँग आएका दुई जना श्रीमती र छोरा भएको खुलासा भएको थियो ।

मंगलबार गाउँमा हल्ला भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले स्याङतान र उनकी श्रीमती र छोरालाई पक्राउ गरेको थियो । पक्राउ परेपछि स्याङतानले आफूसँग लामो समयदेखि फेसबुकमा लभ परेको र बिहेको कुरासमेत गरेकाले आएको बताए । ‘घरकी श्रीमती फकाउन समय लागेकाले ढिला गरी भए पनि विवाहका लागि आएँ,’ उनले भने ।

आफ्नै श्रीमानको दोस्रो विवाह गराउन आएकी पत्नीले संन्जीले भने बुढाको ढिपीका अगाडि आफ्नो केही नलागेको बताइन । ‘श्रीमानले ढिपी गरेपछि विवाह गराउन दिदी बनेर आएँ, अरू केही होइन,’ उनले भनिन । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले केटीको घरबाट पक्राउ परेका स्याङतान र उनकी श्रीमतीको विषयमा अनुसन्धान भइरहेको बताउनु भयो ।