जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार १७:४६

मधेश पुगेर अध्यक्ष प्रचण्डको चेतावनी : अहिलेसम्म जे–जे भयो–भयो, अब यस्तो कुरा सैह्य हुँदैन


महोत्तरी, कात्तिक १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले तराई मधेशमा आफै अनसन बस्ने चेतावनी दिनुभएको छ । महोत्तरीको पिपराहमा नेकपाले आज आयोजना गरेको ‘छठ पर्वको सुभकामना आदान प्रदान कार्यक्रम’ मा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिनुभएको हो ।

अव पनि तराईको विकास निर्माणले गति नलिए आफै अनसन बस्ने स्थिति आउन सक्ने अध्यक्ष प्रचण्डको भनाई थियो । तराई मधेशमा भइरहेका विभिन्न विकासका आयोजनाको नामै किटेर अध्यक्ष प्रचण्डले ती आयोजनाहरुको अहिलेसम्म भइरहेको प्रगति सैह्य नहुने बटमलाइन पनि सुनाउनु भयो । दोस्रोपटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको जनकपुर–भिट्टामोड सडकको कार्यप्रगति निकै सुस्त भएकोमा उहाँले कडा आपत्ति जनाउनु भयो ।

‘अहिलेसम्म जे भयो–भयो, अब यस्तो ढिलासुस्ती सैह्य हुँदैन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिलेसम्म यहाँ रामकुमार शर्माजीहरु मात्रै आन्दोलनमा हुनुहुन्थ्यो, अब पनि ढिला सुस्ती भयो भने मसमेत अनसन बस्न नपरोस ।’ अध्यक्ष प्रचण्डले १६ वर्षसम्म हुलाकी सडकको काम अघि नबढेकोप्रति पनि कडा असन्तुष्टि जनाउनुभयो । भारतले बनाउन सुरु गरेको हुलाकी सडक यस्तै अवस्थामा राखे आफूहरुले नै बनाउने कुरा भारतसँग राखिएको जानकारी पनि उहाँले दिनुभयो ।

सम्बोधनको क्रममा उहाँले तराई मधेशका जनतासँग आफ्नो गहिरो प्रेम रहेको भनाई पुनः दोहोर्याउनु भयो । अध्यक्ष प्रचण्डले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भ्रष्टाचार विरोधीलाई मत दिन मधेशका मतदातालाई अपिलसमेत गर्नुभयो ।