जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार १९:१९

प्रधानमन्त्री ओलीलाई अस्पतालमै राख्ने चिकित्सकको निर्णय : यस्तो छ पछिल्लो अवस्था (बिज्ञप्तीसहित)


काठमाडौं, कात्तिक १३ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान ग्राण्डी अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालमै राख्ने निर्णय चिकित्सकहरुले गरेका छन । धपेडीका कारण प्रधानमन्त्री ओलीमा केही समस्या देखिएपछि चिकित्सकले निवास नपठाई अस्पतालमै राख्ने निर्णय गरेका हुन । अस्पतालका दुई चिकित्सकले भर्खरै बिज्ञप्ती जारी गरी प्रधानमन्त्रीको थप केही परीक्षण बाँकी रहेकोले अस्पतालमै भर्ना गरिएको जानकारी दिएका हुन ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू आफ्नो नियमित उपचार तथा स्वास्थ्य परीक्षणका क्रममा आज मिति २०७६ कात्तिक १३ गते बुधवार यस ग्राण्डी इन्टरनेश्नल हस्पिटलमा भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ । सम्माननीयज्यूको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राती अथवा भोलिसम्ममा हस्पितटबाट डिस्चार्ज गरिनेछ,’ ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहनुभएकी सोही अस्पतालकी नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन बिभागका अध्यक्ष प्राडा. दिब्यासिंह शाहले भन्नुभएको छ ।

यसअघि भोलिसम्म ग्राण्डी अस्पतालमै बसेर आराम गर्न चिकित्सकले सुझाव दिएका छन । बालुवाटार फर्कन साथ आरामको साटो धपेडी हुने निश्कर्षसहित चिकित्सकहरुले अस्पतालमै बस्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन । प्रधानमन्त्री ओलीसँग कसैसँग भेटघाट नगरी आराम गर्ने सर्तमा निवास फर्काउन चिकित्सक तयार भएपनि प्रधानमन्त्री ओलीको काम गर्ने शैलीका कारण त्यो काम संभव नहुने निश्कर्षसहित ग्राण्डी अस्पतालमै बिहीवारसम्म रहन सुझाएको एक चिकित्सकले जनताटाइम्सलाई बताए ।

‘उहाँ निवास फर्कैपछि आरा मगर्नुहुन्छ भन्ने बिश्वास हामीलाई लागेन, धपेडीकै कारण स्वास्थ्यमा समस्या नआवस भनेर अस्पतालमै रहन सुझाव दिएका छौं,’ प्रधानमन्त्री ओलीको उपचारमा संलग्न एक चिकित्सकले जनताटाइम्ससँग भने । उनका अनुसार आफूहरुले प्रधानमन्त्री ओलीसँग भेटघाट नगर्ने सर्तनामा गराएर बालुवाटार पठाउने योजना थियो । तर प्रधानमन्त्री ओलीले हसी मजाकमै कसैसँग नभेटने कुरा पनि संभवहोला र ? भन्ने जवाफ दिनुभएपछि अस्पतालमै राख्ने चिकित्सकको योजना बनेको हो । सोही कारण पाँच बजेपछि निवास पठाउने बताएका चिकित्कहरुले प्रधानमन्त्री ओलीलाई अस्पतालमै रहन सुझाएका हुन ।

नियमित स्वास्थ्य परीक्षण सकिएकोले राति अबेर भए पनि प्रधानमन्त्री ओली भने निवास फर्कने अडानमा हुनुहुन्छ । ‘प्रधानमन्त्री निवास फर्कनु अडानमै हुनुहुन्छ तर हामीले बिहीबार बिहानसम्म अस्पतालमै राखेर थप परीक्षण गर्दा राम्रो हुन्छ भनेका छौं,’ ती चिकित्सकको भनाई थियो । प्रधानमन्त्री ओली नियमित परीक्षणका लागि आज बिहान ग्राण्डी अस्पताल जानुभएको हो । उहाँको दिनभर स्वास्थ्य परीक्षण गरिएको हो । प्रधानमन्त्री ओलीको रगत, सुगर, रक्तचाप, क्रियटिनिनलगायतको परीक्षण गरिएको हो । परीक्षणको क्रममा स्वास्थ्य अवस्था सामान्य देखिए पनि केही थप परीक्षण गर्नुपर्ने चिकित्कको भनाई छ । पछिल्लो समय प्रधानमन्त्री ओली निकै व्यस्त भएकोले धपेडीकै कारण स्वास्थ्यमा समस्या देखिएको चिकित्सकको भनाई छ । धपेडीले ज्वरोसँगै अरु समस्या पनि देखिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ निवास फर्कन चाहनुभएको बताउनु भयो । ‘नियमिति स्वास्थ्य परीक्षणका लागि आज बिहान ९ बजे अस्पताल पुग्नुभएको थियो। नियमित परीक्षण भइरहेको छ, चिकित्सकले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी हामीलाई दिनुभएको छ,’ प्रेस सल्लाहकार अर्यालले जनताटाइम्ससँग भन्नुभयो । ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मृगौलाको समेत परीक्षण गरिएको छ । बाह्र बर्षअघि प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौला प्रत्यारोपणपछि उहाँले नियमित औषधि सेवन गर्दै आउनुभएको छ । केही समयअघि सिंगापुरमा प्रधानमन्त्री ओलीको मृगौलाको उपचार गरिएको थियो । सिंगापुर अस्पतालमा भदौं दोस्रो साता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो । त्यही क्रममा दुई हप्ता प्रधानमन्त्री ओली सिंगापुरमा रहनुभएको थियो । रेनल बायोप्सीको रिपोर्टपछि प्रधानमन्त्री ओली चिकित्सकको सुझावअनुसार थप परीक्षण र उपचारका लागि सिंगापुर जानुभएको थियो ।

सिंगापुरबाट फर्केपछि एक पटक मनमोहन कार्डियोथेरासिस सेन्टरमा स्वास्थ्य परीक्षण गर्नुभएका प्रधानमन्त्री ओली त्यसपछि ग्राण्डी अस्पतालमै यसअघि नियमित परीक्षण गरिएको थियो । अहिले पनि प्रधानमन्त्रीको सोही उपचारको क्रममा आउने समस्या बुझ्न नियमित स्वास्थ्य परीक्षण गरिएको चिकित्सकहरुले बताएका छन । मृगौला प्रत्यारोपनपछि नियमित औषधि सेवनकै कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिदै आएको हो ।

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्कैदेखि दैनिक १८ घण्टा काम गर्दै आउनुभएको छ । काममा धपेडी कायम राखेकै कारण अहिले समस्या आएको चिकित्सकको बुझाइ छ । चिकित्सकहरुले यसघि पनि धपेडी बढेको भन्दै अस्वभाविक रुपमा बढी काममा नखटन सुझाएका थिए । तर प्रधानमन्त्री ओलीले त्यो सुझाव बेवास्ता गरेपछि स्वास्थ्यमा केही समस्या आएको हो । धपेडी बढेपछि प्रधानमन्त्री ओलीको शरीरमा पानीको मात्रा कम अर्थात जलवियोजन (डिहाड्रेसन) भएको प्रारम्भिक रिपोर्टमा देखिएको छ ।