जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार १९:५२

समृद्ध भक्तपुर बनाउन महेश बस्नेतले गरे यी पाँच अठोट : आफ्नो कमाईको १० प्रतिशत सामाजिक सेवामा


भक्तपुर, कात्तिक १३ । समृद्ध भक्तपुर निर्माण अभियानको नेतृत्वकर्ताका रुपमा स्थापित भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले आफ्नो कमाईको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गर्नुभएको छ । नेपाल सम्वत ११४०, दीपावली तथा छठ पर्वको अवसरमा मध्यपुर थिमी नगरपालिका ८ खाँसी पोखरी परिसर उपभोक्ता समितिले आज आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले यस्तो घोषणा गर्नुभएको हो ।

सो कार्यक्रममा बस्नेतले आफ्नो जीवनमा कमाईको १० प्रतिशत सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा व्यक्तिगत तर्फबाट समेत योगदान गर्ने बताउनु भयो । सोही क्रममा सांसद बस्नेतले आफ्नो कमाइको तर्फबाट खाँसी पोखरी पुनःनिर्माणको लागि एक लाख रुपैया सहयोग गर्नुभयो । सामाजिक सेवा नै मानिसको सवैभन्दा ठूलो धर्म भएको बताउँदै बस्नेतले समाजमा हुने र आवश्यक पर्ने सहयोग गर्नु मानिसको परम धर्म भएको तथ्य राख्नुभयो ।

निर्वाचन क्षेत्र विकास कोषको तर्फबाट महालक्ष्मी भू–क्षय नियन्त्रणको व्यवस्थित गेट निर्माणको लागि ३० लाख र इ–लाईव्रेरीको लागि ३० लाख गरी ६० लाख उपलब्ध गराउने घोषणा पनि उहाँले गर्नुभयो । ‘आगामी दिनमा भक्तपुर विकास र समृद्धिबाट टाढा हुनै सक्दैन, हामी सवै मिलेर समृद्ध भक्तपुर बनाएर छाडछौं,’ बस्नेतले भन्नुभयो । उहाँले नीलवाराहीलाई इको पार्क वा जातीय संग्राहलयमध्ये कुनै एकको रुपमा विकास गर्ने योजना अनुरुप एक करोड ५० लाख रुपैया विनियाजन भएको जानकारी पनि दिनुभयो । सम्पदा वस्ती संरक्षण कार्यक्रम शुरु भएको र सो कामका लागि १५ करोड रकम व्यवस्था भएको पनि बताउनु भयो ।

जनताले चासो दिएमा विकास निर्माणको लागि स्रोत तथा साधनको अभाव हुन नदिने अठोट पनि उहाँले गर्नुभयो । भक्तपुर २ का निर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेतले घलाते, गठ्ठाघर र बोडेको गरी ठूला तीन वटा पुलहरु टेण्डरको प्रकृयामा रहेको जानकारी पनि गराउनुभयो । बस्नेतले पेप्सीकोला–सल्लाघारीको बैकल्पिक सडकको रुपमा पेप्सीकोला–बोडे–स्वरस्वतीखेल–छालिङ हुँदै नगरकोटसम्म जाने सडक निर्माणको क्रममा रहेको जानकारी पनि दिनुभयो ।

उहाँले विगत लामो समयदेखि भिमसेन चोकबाट बोडे आउने सडक अलपत्रमा परेको र स्थानीय जनता तथा जनप्रतिनिधिको दवावका कारण धेरै ठाउँमा सम्पन्न हुने क्रममा रहेको, लोगो गार्मेन हुँदै कृषि तालिम केन्द्र– बोडेसम्म आउने सडक आगामी दुई तीन महिनाभित्रमा निर्माण सम्पन्न हुने, निकोसेरा–नागवेलीहुँदै खस्र्याखुर्सुङ खोलासम्म, बोडेदेखी टिकिनी जाने सडकलगायतका सडकहरु तीव्र गतिका साथ निर्माणको चरणमा रहेको तथ्य पनि राख्नुभयो ।

भक्तपुर जिल्ला कला र संस्कृतिको अनुपम जिल्लाको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिन सफल भएको बताउँदै पर्यटन क्षेत्रमा पुर्खाहरुले लगाईदिएको व्याज (आर्थिक रुपमा) अहिलेको पुस्ताले सदुपयोग गरिरहेको बताउनु भयो । ‘राम्रो काम गर्दा पाउने गाली आशिसमा परिवर्तन हुन्छ, जसले गाली गर्छ, त्यो उसैसँग फर्कने छ,’ कार्यक्रममा बस्नेतले भन्नुभयो, ‘कसले के भन्यो भनेर डराउने होइन, मैले के गरें ? जनताको काम गरें कि गरिन भनेर डराउने हो ।’ भक्तपुरलाई आधुनिक र परिस्कृत बनाउन एक लाख रोपनीमा निर्माण गरिने स्मार्ट सिटीको डिपिआर सम्पन्न भईसकेको जानकारी पनि बस्नेतले दिनुभयो । उहाँका अनुसार मनोहरा कोरिडोर निर्माणको लागि करिव एक करोड रकम विनियोजित हुने अन्तिम तयारीमा रहेको छ ।