जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार १०:१५

कोटेश्वर-कलंकीकै ढाँचामा बन्दै कलंकी-चाबहिल सडक, आकासे पुल-प्रहरी भवनसहित ४० घर भत्किने


काठमाडौं, कात्तिक १५ । कलंकी-चाबहिल चक्रपथ विस्तारमा नारायणगोपाल चोक आसपासका करिब ४० घर हटाउनुपर्ने देखिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको प्रारम्भिक सर्वेक्षणमा यस्तो देखिएको हो।

यस सडकमा ‘राइट अप वे’ क्लियर नभएसम्म चिनियाँ कम्पनीले डीपीआर तयार नगर्ने भएको छ। चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि चाबहिल धोबीखोलासम्म ११.६ किलोमिटर सडक विस्तार गर्न लागिएको हो । उक्त सडक (कलंकी चाबहिल) अहिले ३० मिटरको चौडाइमा फैलिएको छ। तर, अब सडकको मध्यभागबाट दायाँ ३१ र बायाँतर्फ ३१ मिटर गरी जम्मा ६२ मिटरको चौडाइमा विस्तार हुनेछ। उक्त क्षेत्रमा भएका करिब ४० वटा घर सडक विभागले हटाउनेछ।

अहिले राइट अप क्लियरका लागि सडक विभागमार्फत उपत्यका विकास प्राधिकरणले पहिलो चरणमा लगत संकलन गरिरहेको छ। प्राधिकरणले संकलन गरेको प्रारम्भिक तथ्यांकमा निजी आवास, नेपाल पुलिसको भवनको केही भाग, नेपाल कुष्ठरोग निवारण संस्थाको भवन, पेट्रोल पम्प, गोंगबु नयाँ बसपार्कको आकासे पुललगायत संरचना हटाउनुपर्ने देखिएको छ। साथै, एघार किलोमिटर आसपासमा भएका बिजुलीको पोलसमेत हटाइने भएको छ।

बिजुलीका पोल हटाउनका लागि नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिसकेको छ। अहिले सडकको विस्तारका लागि अधिग्रहण गर्नुपर्ने भएका जमिन क्षतिपूर्ति दिएर गरिने आयोजनाको भनाई छ । प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार जमिन र घरको क्षतिपूर्तिबापत करिब एक अर्ब ६१ करोड रुपैयाँ दिनुपर्ने देखिएको छ । विस्तार क्रममा रहेको यो सडक पनि कोटेश्वर-कलंकीकै ढाँचामा आठ लेनमा बन्न लागेको हो। आठ लेनमा बन्ने सडकको मुख्य लेन चीन सरकारले बनाइदिनेछ। सर्भिस लेन भने नेपाल सरकार आफैँले बनाउनुपर्ने सहमति भएको छ ।

चाबहिल धोबीखोला पुलदेखि तिलगंगासम्मको सडक विस्तार नहुने भएको छ। यस क्षेत्रमा पुरानो बाक्लो बस्ती छ। त्यहाँ पशुपति क्षेत्रका मठमन्दिरका संरचना पनि धेरै छन्। यस क्षेत्रमा भएको सडकको चौडाइ करिब १६ मिटर मात्र छ। यो खण्ड विस्तार गर्दा बनेका संरचनामा धेरै क्षति हुने देखिएको छ । धेरै घर र पशुपति क्षेत्रका संरचना भत्काउनुपर्ने हुँदा यो खण्ड तत्काल नबन्ने भएको आयोजनाले जनाएको छ ।