जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार ११:३७

बलात्कार मुद्दाका अभियुक्त महराले दिए अदालतमा सभामुख पदको गरिमा कायमै राखेको यस्तो बयान


काठमाडौं, कात्तिक १६ । जवरजस्ती करणी उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूले सभामुख पदको मर्यादा र गरिमा कायमै राखेको जिकिर गर्नुभएको छ ।

आफूलाई राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गर्दै महराले बन्द इजलासमा सभामुख पदको गरिमा आफूले कायमै राखेको बयान दिनुभएको हो । संसद् सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै महरालेसभामुख पद र ओहदाको मर्यादा राखेको बयान दिनुभएको इजलाशमा रहेका एक प्रत्यक्षदर्सीले बताए । महरासँग अदालतको बन्द इज्लाशमा शुक्रवार पाँच घण्टा लामो बयान लिइएको थियो । त्यसक्रममा महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको प्रतिवाद गर्दै ‘इन्कारी बयान’ दिनुभएको हो ।

‘एउटा सबालमा महराले मैले ओहदाको मर्यादा राखेको छु, पदको दुरुपयोग गरेको छैन भन्नुभएको छ । आफूलाई फसाउन राजनीतिक षड्यन्त्र रचिएको भनाइ उहाँको छ,’ अदालत स्रोतले भन्यो । महराले बयानमा जाहेरीमा भनिए झैं आफूले रक्सी नपिउने दाबी गर्दै सामान्य प्रकृतिको व्यक्ति रहेको बयानमा उल्लेख गर्नुभएको छ । ‘आफूमाथि लगाइएको अभियोग झुटा हो भन्नुभएको छ । राजनीतिक प्रतिशोधका कारण अभियोग लगाइएको भन्ने भनाइ उहाँको छ,’ स्रोतले भन्यो । ती अधिकारीका अनुसार आफूलाई फसाइएको बताए पनि महराले ती ब्यक्ति को हुन भन्ने केही बताउनु भएको छैन ।

महरालाई बलात्कार प्रयासमा सात वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्र दायरसँगै शुक्रवार अदालतको बन्द इजलासमा महरासँग बयान लिइएको हो । सो क्रममा महराले पीडित भनिएकी शाहीको अभिभावक रहेकाले आरोप लगाएजस्तो व्यवहार गर्न असम्भव रहेको जिकिर गर्नुभएको छ ।

महराले बयानमा शाहीको विवाहमा आफूले अभिभावकको भूमिका खेलेको बताउनु भएको छ । शाहीसँग पारिवारिक रूपमा पटक–पटक आउजाउ हुने क्रममा भेट हुने गरेको महराले खुलाउनु भएको छ । यस्तै महराले आफू ‘हाडड्रिंक्स सेवन’ नगर्ने र कहिलेकाहीं औपचारिक समारोहमा थोरै मात्रामा ‘वाइन’ भने पिउने गरेको बयान पनि दिनुभएको छ ।

गत असोज १२ गते संसद् सचिवालयमा शाहीसँग संवाद हुँदा आक्रोशमा आएको देखेको र सोही क्रममा सम्झाउन गएको तर फोन नउठेपछि कोठाभित्र नगइ फर्किएको बयान महराले दिनुभएको छ । स्वास्थ्य प्रतिकूलताका कारण शाहीले अस्पतालमा उपचार गराएको जानकारी पाएपछि विक्षिप्त अवस्था आउन नदिन सम्झाउने ध्येयले निजी गाडीमा सुरक्षाकर्मीसहित अन्दाजी बेलुका ७ बजेपछि उनको कोठा रहेको इलाकामा गएको महराको भनाई छ ।
अदालतमा महराको बयान सकिएकोले भोलि आइतवार थुनछेक बहश हुनेछ ।