जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १४:५३

रोटरीद्वारा नेपालका २५ बालबालिकाको मुटुको शल्यक्रिया


काठमाडौं, कात्तिक १६

रोटरी इन्टरनेशनलले नेपालका २५ बालबालिकालाई भारतका उत्कृष्ट अस्पतालमा निःशुल्क मुटुको शल्यक्रिया गर्ने व्यवस्था गरेको छ । रोटरी इन्टरनेशनलका प्रेसिडेन्ट शेखर मेहताले आर्थिक अभावका कारण मुटु रोगको उपचार गर्न नपाएका गरीब परिवारलाई रोटरीमार्फत जानकारी गराए भारतमा उपचारको व्यवस्था मिलाइने बताउनुभयो ।

रोटरीले विश्वका विभिन्न मुलकमा गरीबी निवारणलाई केन्द्रित गरी वित्तीय कोष परिचालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले इन्टरनेशनलले विशेष गरी शिक्षा, स्वास्थ्य, मातृशिशु कल्याण, आर्थिक विकास तथा शान्तिका क्षेत्रमा केन्द्रित गरेर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

संसारबाट नै पोलियो उन्मूलन गर्न विश्वका विभिन्न २०० मुलुकमा आफ्नो अभियान जारी राखेको उल्लेख गर्दै उहाँले नेपालमा पनि पोलियो उन्मूलनका लागि सहकार्य गर्दै आएको बताउनुभयो ।

रोटरीको बोर्डले मेहतालाई इन्टरनेशनल प्रेसिडेन्टमा निर्विरोध चयन गरेको अवसर पारेर आयोजना गरेको सो कार्यक्रममा कार्यक्रम संयोजक एवं पूर्वमुख्य सचिव तीर्थमान शाक्यले रोटरीले देवघाटमा वृद्धाश्रम निर्माण कार्य अघि बढाइएको, बुटवलमा गौतमबुद्ध सामुदायिक अस्पताल नेपालको नै सबैभन्दा ठूलो मुटु रोगको उपचार गर्ने अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

रोटरी ३२९२ डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले रोटरीले नेपालका विभिन्न १०० विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरेको, १५ हजार थान कम्युटर वितरण गरेको, ५० हजार थानभन्दा बढी युनिफर्म वितरण गरेको, ७७७ बालबालिकालाई विद्यालय पठाएको तथा यस अतिरिक्त भारतमा हालसम्म ४५ हजारभन्दा बढी विद्यार्थीलाई पठाएको र सार्क एवार्ड स्थापना गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो ।