जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार ०९:१७

प्रधानमन्त्रीको सक्रियता बढ्यो : मन्त्रिपरिषद् र सचिवालय बैठक आव्हान


काठमाडौं, कात्तिक १७

प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक आफ्नो सक्रियता बढाउनु भएको छ । बाकु सम्मेलनमा सहभागी भएर आएपछि अस्पताल पुग्नु भएका प्रधानमन्त्री ओलीले त्यहाबाट फर्किएपछि नियमित कामलाई तिव्रता दिन थाल्नु भएको हो ।

शनिवार सचिवालय बैठक बोलाउनु भएका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् बैठक र सचिवालय बैठक बोलाउनु भएको छ । मन्त्रिपरिषद्को बैठक बिहान ११ बजेको लागि डाकिएको छ । अघिल्लो हप्ता प्रधानमन्त्री असंलग्न आन्दोलनको दोस्रो शिखर सम्मेलनमा गएका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । त्यसैले रोकिएका कतिपय निर्णय गर्नका लागि आज बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकपछि सचिवालय बैठक पनि बोलाइएको छ । मन्त्रीपरिषद् कति लामो बस्छ त्यस अनुसार सचिवालयको समय तय हुने नेताहरुले जानकारी दिनुभएको छ । सचिवालय बैठकले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेद्धारको टुंगो लगाउने छ ।

यसैविच, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको रिपोर्ट आज आउने भएको छ । रिपोर्ट आएपछि उहाको स्वास्थ्य अवस्थाका बारेमा सम्पुर्ण जानकारी आउने र आउदा दिनमा के गर्ने भन्ने टुंगो लाग्ने बताइएको छ ।