जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १०:३४

पर्यटन विकास समिति बागलुङको अध्यक्षमा खड्का निर्वाचित


बागलुङ, कात्तिक १७

पर्यटन विकास समिति बागलुङको अध्यक्षमा राजु खड्का निर्वाचित हुनुभएको छ । शनिबार बागलुङ बजारमा भएको समितिको प्रथम अधिवेशनले खड्काको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा राज थापा, उपाध्यक्षमा शेरमान घर्ती, महिला उपाध्यक्षमा भविकला रोका, सचिवमा अर्जुन चोखाल, सहसचिवमा नारायण आचार्य, कोषाध्यक्षमा नरेश कँडेल निर्वाचित हुनुभएको छ ।

सदस्यमा प्रेम लामिछाने, किरण आचार्य, दानबहादुर थापा, बेगमती घर्ती, गण्डकी थापा, कमला पुनमगर, वीरजङ्ग भण्डारी, सञ्जय श्रेष्ठ र हीरा पुन रहनुभएको छ । आठ सदस्यीय आमन्त्रित सदस्यमा विजय राना, झमन पाण्डे, खिमबहादुर थापा, टीका सङ्गम विक, राजु आचार्य, जीतबहादुर क्षेत्री, कौशिला पुन र ज्ञानेन्द्र ढकाल चयन हुनुभएको छ ।

तीन सदस्यीय लेखा समिति संयोजकमा विष्णु अधिकारी रहनुभएको छ । सदस्यमा टेकबहादुर क्षेत्री, केशव कार्कीलाई मनोनित गरिएको समितिले जनाएको छ । बागलुङको पर्यटन विकासमा सहयोग पुर्याउन भन्दै एक वर्ष अघि बनेको तदर्थ समितिले सबै प्रक्रिया पूरा गरेर पहिलो अधिवेशन गरेको हो ।

तीस स्टेचर वितरण

बलेवा समाज अमेरिकाको सहयोग र सहयात्रा फाउण्डेशन बागलुङको आयोजनामा जिल्लाको बलेवा क्षेत्रका हरेक गाउँमा स्टेचर वितरण गरिएको छ । शनिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानमा एक कार्यक्रमको आयोजना गरी बलेवा क्षेत्रका साविकका सबै वडाका लागि स्टेचर वितरण गरिएको हो ।

नेपाल विद्यार्थी सङ्घका निर्वतमान उपाध्यक्ष डिल्लीराम सुवेदीको विशेष संयोजनमा हरेक गाउँ र टोललाई पुग्ने गरी स्टेचर वितरण गरिएको हो । स्टेचर वितरण कार्यक्रममा सुवेदीले स्वस्थ्य समाज निर्माणका निम्ति यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।

उहाँले आफ्नो जन्मभूमि र समाजप्रति विदेशमा रहेर पनि उत्तरदायी बनेकोमा बलेवा समाज अमेरिकाप्रति धन्यवाद प्रकट गर्नुभयो । बलेवा क्षेत्रका साविकका २७ वडामा ३० स्टेचर वितरण गरिएको थियो । जसका लागि बलेवा समाज अमेरिकाबाट १५ सय अमेरीकी डलर सहयोग प्राप्त भएको कार्यक्रम संयोजक बालकृष्ण शर्माले जानकारी दिनुभयो ।