जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १२:२२

विषाक्त वायुले ढाकियो भारतको नयाँदिल्ली, नेपालमा पनि पर्न सक्छ यस्तो गम्भीर असर


काठमाडौं, कात्तिक १७ । नोभेम्बर महिनाको सुरुवातसँगै छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँदिल्लीमा बढेको तुवाँलोका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । बायु प्रदुशन बढेसँगै दिल्लीस्थित राज्य सरकारले ५० लाख मास्क वितरण गर्ने घोषणा गरेको छ ।

केही दिनयता बढेको बायु प्रदुशनपछि मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ‘ग्यास चेम्बर’ मा परिणत भएको टिप्पणी गर्नुभएको छ । अघिल्ला वर्ष पनि यसै सिजनमा वायु प्रदुषण बढ्ने गरेको थियो । सामाजिक सञ्जालमा भने सरकारले बारम्बार हुने समस्या समाधान गर्न नसकेको भन्दै चर्काे आलोचना भएको छ । दिल्लीको धुलाम्मे वायुमण्डलको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै सामाजिक सञ्जालमा विरोध जनाइएको हो ।

नोभेम्बर र डिसेम्बरमा दिल्लीका छिमेकी राज्य पन्जाब र हरियाणाका किसानले अन्नवाली भित्र्याएपछि खेतमा ठुटा पोल्ने गर्छन् । सोही कारण ठूलो मात्रामा धुवाँ वायुमा मिसिएपछि विषाक्त बन्ने गरेको विज्ञको भनाइ छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सी बिबिसीका अनुसार यसको असर नेपालसम्मै पर्नसक्छ । सौराहा र लुम्बिनीमा यस सिजनमा प्रदुषण बढ्नुको कारण सीमापारबाट आउने वायु पनि कारक रहेको बिबिसी नेपाली सेवाले जनाएको छ । बिज्ञहरुले भारतमा बढेको बायु प्रदुशनपछि नेपालमा सतर्कता अपनाउनु पर्ने सुझाव दिएका छन ।