जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १८:५१

प्रदेश प्रमुख बर्खास्त भएपछि मर्माहत बन्यो कांग्रेस, प्रवक्ता शर्माको आयो यस्तो टिप्पणी


काठमाडौं, कात्तिक १७ । सरकारले सात ओटै प्रदेशका प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । सत्ता छाडने बेलामा सत्ता सम्हाल्दै गरेको दललाई बाइपस गर्दै एकलौटी नियुक्त गरिएका प्रदेश प्रमुख हटाएपछि कांग्रेस आक्रोशित बनेको हो ।

कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारको उक्त निर्णयबाट सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा लागेको जिकिर गर्नुभयो । ‘सरकारले गर्नु पर्ने काम धेरै छन् । तर सरकार द्वन्द्व नित्याउने बाटोमा लाग्यो । यस्तो पूर्वाग्रही कदमप्रति काँग्रेसको विमति रहन्छ,’ शर्माले भन्नुभयो । संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनुले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको आरोप पनि कांग्रेसको छ ।

आइतबार मन्त्रिपरिषले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नुभएको हो । स्पष्ट बहुमत प्राप्त गरिसकेको नेकपाको विरोधका बीच तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेको थियो ।

देउवा सरकारले प्रदेश १ मा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेशवर लाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गा केशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको थियो । ओली सरकारले सो निर्णय सच्याउँदा कांग्रेस आतंकित बनेको हो ।