जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार २०:५६

सुरक्षागार्डले यसरी पर्दाफास गरिदिए महराको झुट


काठमाडौं, कात्तिक १७ । जवरजस्ती करणी गरेको अभियोगमा अदालतमा मुद्दा दायर भई थुनछेकको बहशमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले घटना भएको दिन पीडित महिलाको कोठामा नगएको दावी झुटो प्रमाणित भएको छ । संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीले असोज १२ गते महराले आफ्नो कोठामा आइ बलात्कार गरेको बताएपछि पक्राउ परेका महराले त्यस दिन शाहीको कोठामै नगएको झुटो दावी गर्दै आएका थिए ।

पछिल्लो समय शाहीले पनि त्यस दिन महरा नआएको भन्दै बयान फेरेकी थिइन । तर महराकै सुरक्षा गार्डले बलात्कृत भनिएकी रोशनी शाहीको कोठामा घटना भएको दिन महराले १ घन्टा २५ मिनेट बिताएको बयान दिएर झुटको पर्दाफास गरेका हुन । संसद सचिवालयमै कार्यरत कर्मचारी रोशनी शाहीले असोज १२ गते साँझ महराले आफूलाई बलात्कार गरेको बताएपछि असोज १९ गते सभामुख निवासबाटै पक्राउ गरिएको थियो ।

बलात्कार मुद्दामा महरामाथि थुनछेक बहश जारी रहेको छ । महरासँगै असोज १२ गते गएका सुरक्षा गार्ड प्रहरी हवाल्दार विष्णुबहादुर थापाले सरकारी वकिलसमक्ष बयान दिँदै घटना भएको दिन अन्दाजी १ घन्टा २५ मिनेट महरा तिनकुने सुबिधानगरस्थित शाहीको कोठामा रहेको पर्दाफास गरेका हुन । उनी २०७४ सालदेखि महराका सुरक्षा गार्ड हुन ।

यस्तो छ बयान

मिति २०७४।१२।२० गतेदेखि म निवर्तमान सभामुख प्रतिवादी कृष्णबहादुर महराको अगुवा गाडीमा सुरक्षाको लागि कार्यरत छु । मिति २०७६।०६।१२ गतेका दिन बिहान अन्दाजी १०ः०० बजे सभामुखसहित संसद भवन नयाँबानेश्वरमा गई त्यहाँको कार्यक्रममा पश्चात सिंहदरबार गएर अन्दाजी १६ः०० बजेतिर पुनः सभामुख निवासमा फिर्ता आएका हौं । त्यसपछि निवर्तमान सभामुख प्रतिवादी कृष्णबहादुर महराले आज कही कतै जानु पर्नेछैन भनेकाले निजको व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा खटिनु भएका प्रहरी नायव निरीक्षक किशोर आचार्य त्यहाँबाट आफ्नो घर जानु भएको हो ।

सोही दिनको साँझ अन्दानी १८ः३० बजे तिर प्रतिवादी कृष्णबहादुर महराले एकछिन बाहिर जानुपर्ने भयो, नेपाल प्रहरीबाट खटिएका एक जना र नेपाली सेनाबाट खटिएका एक जना सुरक्षाकर्मी मसँग हिड्नोस भनेकाले म, नेपाली सेनाका जमदार काजीमान राना मगर (९८६६…) र चालक स.प्र.ह श्यामहरि आचार्य (९८४१…) भई बा २ झ २८६३ नं. को सेतो कालो रंगको स्कारपियो गाडीमा प्रतिवादी कृष्णबहादुर महरालाई लिई सभामुख निवासबाट बाहिर निस्केका हौं । त्यहाँबाट निस्कदा हामी सबै जना सादा पोशाकमा थियौं । मैले र नेपाली सेनाको जमदारले पेस्तोल बोकेका थियौं ।

गाडीमा बस्दा नेपाली सेनाको जमदार चालकको बायाँतर्फ रहेको अगाडिको सिटमा, निवर्तमान सभामुख प्रतिवादी कृष्णबहादुर महरा निजभन्दा पछाडि र म निज प्रतिवादी बसेको सिटमा चालकभन्दा पछाडि बसेको थिएँ । निज प्रतिवादी कृष्णबहादुर महरासँग के, कहाँ जाने भनी सोध्दा कोटेश्वरतिर जाने भन्नुभएको थियो । रातको समय भएकाले निजले कालो कोट लगाएको जस्तो देखिन्थ्यो । निजले कस्तो खालको जुत्ता लगाउनु भएको र चस्मा लगाए/नलगाएको सम्बन्धमा मैले याद गरिन । निजले मादक पदार्थ सेवन गरेको नगरेको र मादक पदार्थ रहेको बोत्तल बोकेको नबोकेको सम्बन्धमा मलाई याद भएन ।

हामीहरु सभामुख निवास बालुवाटारबाट हिडेको करिव आधा घण्टापछाडि काठमाडौंको तिनकुने चोकमा पुगी त्यहाँबाट दाहिनेतर्फको भित्री बाटो हुँदै भित्रतिर गएका हौं । भित्र गई सकेपछि केही पर पुगेपछि निज प्रतिवादी कृष्णबहादुर महरा र नेपाली सेनाका जमदार गाडीबाट ओर्लेका थिए । म उक्त गाडीमा सोभन्दा अगाडि नचढेको हुँदा सो गाडीको ढोकाको लक खोल्दा नखोलिएकाले गाडीभित्रै थिएँ । त्यसपछि उक्त गाडी केही पर लगी फर्काएर निजहरु ओर्लेको स्थानमा आइपुग्दा नेपाली सेनाका जमदार काजीमान राना मगर सोही स्थानमा थिए ।

निजलाई सभामुख के कता जानु भयो ? भनी सोध्दा भित्रतिर जानु भएको छ । आधा घण्टा पछाडि आउछु भन्नुभएको छ भनी बताएका थिए । त्यसको करिब १ घण्टा २५ मिनेट पछाडि निज प्रतिवादी कृष्णबहादुर महरा उक्त स्थानमा फर्की आई गाडीमा बसी हामीहरु त्यहाँबाट फर्केर सभामुख निवासमा आई पुगेका हौं । हामीहरु फर्केर आइसकेपछि मैले निजको व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा खटिएका प्रहरी नायव निरीक्षक डबलबहादुर बम र प्रहरी नायव निरीक्षक किशोर आचार्यलाई फोन गरी हामीहरु बाहिरबाट सभामुख निवास आइपुग्यौं भनी रिपोर्ट गरेको हुँ ।