जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १६:५२

बन्द इजलाशमा यसरी पोखियो महरा–रोशनीको प्रेम


काठमाडौं, कात्तिक १८ । यौन दुर्ब्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको थुनछेक बहस आज सकिएको छ । आइतबार र सोमबार दुई दिनसम्म बन्द इजलासमा थुनछेक बहस भएको हो ।

पीडित भनिएकी रोशनी शाही सोमबारको बन्द इजलासमा उपस्थित भइन । बन्द इजलासमा रोशनी र महरा एकअर्कातर्फ फर्किएर बसेका थिए । यी दुईबीच कुराकानी नभए पनि मन्द मुस्कानमा इसाराले हालचाल सोधेको इजलाश कक्षमा रहेका एक कानुन ब्यवसायीले जनताटाइम्सलाई बताए । महराका पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ताले पीडित भनिएकी रोशनी शाहीलाई इजलासमै आफ्ना कुरा राख्न दिनुपर्ने तर्क गरेका थिए । तर न्यायाधीशले यसअघि नै उनले दिएको निवेदन मिसिलमा राखिएकाले आवश्यक नभएको जवाफ दिनुभयो ।

आइतबार भएको थुनछेक बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएकाले आज पुनः बहस भएको हो । महराको तर्फबाट नेपाल वार एशोसियसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली र सविता भण्डारीले बहस गर्नुभएको थियो । महराको तर्फबाट बसह गरेका सबैजसो कानुन व्यवसायीले यौन दुव्यर्वहारको मुद्दा सरकारवादी नभएर व्यक्तिवादी हुने भएकाले सरकारी वकिलले मुद्दा नै चलाउन नमिल्ने तर्क गरेका छन् । उनीहरुले मुद्दा कानुनी व्यवस्था र न्यायको सिद्धान्तविरोधी भएको तर्क गरेका छन् ।

केहीबेरमा महरालाई पुर्पक्षमा राख्ने वा धरौटी वा साधारण तारेखमा छाड्ने मध्ये कुनै एक निर्णय आउनेछ । महरामाथि संसद् सचिवालयकी कर्मचारी शाहीमाथि यौन दर्ब्यवहार गरेको अभियोग लागेको छ । शाहीले अदालतमा आफूलाई महराले दुर्ब्यवहार नगरेको भन्दै यसअघि नै निवेदन दिएकी थिइन । महराले घटना भएको भनिएको असोज १२ गते शाहीको कोठामा नगएो बयान दिएका छन भने शाहीले पनि महरा नआएको र कुनै दुब्र्यवहार नगरेको बयान फेरेकी थिइन ।