जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १७:४५

कारागार चलान भएका महरालाई अर्को झट्का : सांसदबाट पनि निलम्बित


काठमाडौं, कात्तिक १८

बलात्कार प्रयास अभियोगमा जेल चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद स्वतः निलम्वित भएको छ ।

गत असोज १२ गते संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार अभियोग लागेपछि सत्तारुढ नेकपाले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय लिएको थियो। तर महराले सभामुख पदबाट राजीनामा दिए पनि सांसद पद छाड्न अस्वीकार गरेका थिए ।
दाङबाट निर्वाचित महरालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए लगत्तै उनको सांसद पद समेत निलम्बनमा परेको हो ।

कानुन अनुसार करणीसहितका फौजदारी अभियोगमा पक्राउ परेका सांसदको पद आरोप प्रमाणित नभएको अवस्थासम्मका लागि स्वतः निलम्बन भएको मानिन्छ । सांसद पद रहे पनि त्यसबापतको सेवा सुविधा दिइँदैन । आरोप प्रमाणित भएमा अर्थात् दोषी ठहर भएमा सांसद पद स्वतः जान्छ ।