जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १८:२४

निवर्तमान सभामुख महरालाई यसकारण जेल पठाउने निर्णयमा पुग्यो अदालत, यी हुन प्रमाण


काठमाडौं, कात्तिक १८ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जवरजस्ती करणी गरेको अभियोगमा प्रतिनिधिसभाका तात्कालिन सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आज भएको थुनछेक बहसपछि महरालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।

अदालतको उक्त आदेशसँगै महरा डिल्लीबजार कारागार चलान भएका छन । काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार आनन्दप्रसाद श्रेष्ठले अदालतको आदेशअनुसार डिल्लीबराज कारागार चलान गरिएको बताउनु भयो । संसद सचिवालयकी कर्मचारी शाहीले गत असोज १२ गते साँझ महराले आफ्नो कोठामा आइ बलात्कार र कुटपिट गरेको बयान सोही राती प्रहरी र भोलिपल्ट एक अनलाइनमार्फत सार्वजनिक गरेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महरा परिवारको दवावमा भोलिपल्टै पीडित शाहीको बयान फेर्न लगाए पनि पुनः किटानी जाहेरी दिएपछि असोज १९ गते सभामुख निवासबाटै पक्राउ गरिएको थियो ।

बलात्कारको आरोप लागेपछि महरालाई गत असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो । अनुमति पाएसँगै प्रहरीले महरालाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको हो । पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहेपनि नर्भिक अस्पतालमा बसेका थिए । पक्राउ परेको केही दिनमै स्वास्थ्य अवस्था बिग्रिएपछि केही दिनयता महरा नर्भिक अस्पतालमा उपचाररत रहेका थिए । गत मंगलबार अस्पतालबाटै उनलाई सरकारी वकिलको कार्यालय लगेर थुनछेक बहस गरेपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो ।

अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीलाई थप अनुसन्धानको बाटो खुल्ला भएको थियो । आज थुनछेक बहशपछि महरालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश अदालतले दिएको हो । शाहीले महराले बलात्कार गरेको भनिएको असोज १२ गतेकै राति प्रहरीलाई घटनाबारे जानकारी गराएकी थिइन । सोही समय शाहीसँग भिडियो कुराकानी गरेको थियो । पछि शाहीले नै अर्को अनलाइनमा पहिचानसहित भिडियो अन्तर्वार्ता दिएकी थिइन । उक्त अन्तर्वार्तामा उनले महरा आफ्नो बाबुसमान मान्छे भएकोले आफूलाई केही नगरेको दाबी गरेकी थिइन । त्यसलगत्तै उनको पतिसँग ‘डिभोर्स’ भएको भनी उनका श्रीमान् चित्रजंग शाहीले दम्पतीको हस्ताक्षरसहितको विज्ञप्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

तर त्यसको केही दिनपछि पुनः शाही दम्पतीले महानगरीय प्रहरी प्रभाग बानेश्वरमा बलात्कार प्रयास गरेको भन्दै महराविरुद्ध उजुरी दिएको थियो । घटना भएको भोलिपल्ट भने शाहीले महराले आफूमाथि यौन दुराचार नै गरेको बताएकी थिइन । सोही उजुरीका आधारमा महरा प्रहरी हिरासत पुगेका हुन । महरामाथि आरोप लागेपछि नेकपाले उनलाई सभामुख र सांसद दुवै पद त्याग्न निर्देशन दिएको थियो । तर महराले नेकपाको निर्देशनअनुसार सांसद पदबाट राजीनामा दिएका छैनन । उनले पार्टी निर्देशन नमान्ने घोषणा गरिसकेका छन । प्रहरीले पक्राउ गरेपछि उनी सांसदबाट पनि निलम्बनमा परेका छन । निलम्बनपछि प्रहरी हिरासत हुँदै कारागार चलान भएका हुन ।

बलात्कारको आरोप लागेपछि अभियोगबाट सफाइका लागि महराले ठुलै चलखेल र चलाखी नगरेका भने होइनन । शाहीसँगको लामो समयदेखिको सारीरिक सम्बन्ध कायम रहेको सार्वजनिक भइसकेपछि बलात्कारको आरोपबाट बच्न महराले डिएनए परीक्षणका लागि रगत दिन अस्वीकार गरे । पोलिग्राफ परीक्षण पनि अस्वीकार गरे भने मोवाइल फोन पनि लापत्ता बनाए । प्रमाण रहेका मोवाइल फुटाएको/हराएको बयान दिएर अनुसन्धानमा असहयोग गरे । बलात्कारका आरोपीले डिएनए परीक्षण अस्वीकार गर्नु नै बलात्कार गरेको स्वीकारोक्ति हो भन्ने तथ्य महराले भुले । आफूले कानूनी दाउपेच खेल्न कुनै कसर बाँकी नराखी उनले आरोपीलाई नै आफूतिर ताने ।

महराले आफू र शाहीबीच प्रेम सम्बन्ध रहेको र लामो समयदेखि सारीरिक सम्बन्ध कायम रहेको तथ्य स्वीकार गरेको भए अदालतले धरौटीमा छाडन सक्ने अनुमान कानून ब्यवसायीको थियो । तर महराले सवै इन्कारी बयान दिएको र अनुसन्धानमा असहयोग गरेपछि प्रमाणले घटना भएका दिन पीडितको कोठामा पुगेको देखाएको हो । पीडितको पहिलो बयानमा पनि यो कुरा प्रष्ट रहेकोले स्वयं पीडितलाई आफ्नो पक्षमा पारेपनि अदालत महराले अपराध गरेको निश्कर्षमा पुगेको हो ।

र, यो पनि

यसो गरे जेल जानबाट बच्न सक्छन महरा

श्रीमतीसहित परिवारका सवै सदस्यलाई शाहीसँगको सम्बन्ध जानकारी भएको र लामो समयदेखि प्रेमिका रहेको कारण शाहीले आवेगमा तथ्य उजागर गरे पनि प्रेमकै कारण बचाउन लागिन । तर आवेगकै समायमा उनले दिएको भिडियो अन्तर्वार्ताको कारण बचाउका लागि गरिएको कुनै बयान वा अदालतमा दिएको निवेदनले काम गरेन । घटना सार्वजनिक भएपछि जतिसुकै तिकडम गरेपनि प्रमाणले झुटो सावित गरिदियो । महराको पक्षमा सबभन्दा बलियो प्रमाणका रुपमा अदालतमै आएर शाहीले दिएको इन्कारी निवेदन थियो । तर अदालतले यो निवेदनलाई ‘होस्टायल’ का रूपमा लिएको छ । पीडितले लोभ, लालच वा त्रासमा परेर आफूमाथि भएको अन्याय अस्वीकार गर्दै अदालतमा दिने बयान वा निवेदनलाई कानुनी भाषामा ‘होस्टायल’ भनिन्छ । महरालाई कारागार पठाउने आदेशबाट शाहीको निवेदनलाई होस्टायलको रुपमा लिएको प्रष्ट देखिएको छ ।

शाहीले घटनालगत्तै प्रहरीलाई दिएको बयान र उपलब्ध तथ्य महराविरुद्धका सबैभन्दा बलिया प्रमाणका रुपमा अदालतले लिएको छ । घटनाको एक घन्टाभित्रै उनले १०० मा फोन गरेर प्रहरीलाई बोलाइन । त्यो रात प्रहरीसँगको भिडियो रेकर्डमा उनले भनेकी छन, ’महरा आएर मलाई ‘सेक्सुअल एसल्ट’ गर्यो, नमान्दा पिट्यो ।’ शाहीको यो पहिलो बयान सरकारी वकिलको कार्यालयले अदालतसमक्ष पेस गरेको थियो । यही बयान नै महरालाई जेल पुर्याउने बलियो हतियार बन्यो ।