जनता टाइम्स

१९ कार्तिक २०७६, मंगलवार ०९:४०

३९ जनाको मृत्युको कारण पत्ता लगाउन शव परीक्षण हुँदै, ८ जना पक्राउ


काठमाडौं, कात्तिक १९ । केही हप्ता अगाडी बेलायतमा ३९ जनाको शव भेटिएको घटना अझै रहस्यमय बनेको छ । तर भियतनामी प्रहरीले घटनामा संलग्नको आशंकामा ८ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनामा संलग्नको आशंकामा ती व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ । यसअघि शव फेला परेपछि उत्तरी आयरल्याण्डका ट्रक चालक मोरिस रबिन्सनलाई बेलायती प्रहरीले पक्राउ गरेको थियो । बेलायतको राजधानी लण्डनदेखि पूर्व ग्रेज एसेक्सको औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र गत अक्टोबर २३ मा ३९ शव फेला परेका थिए ।

ती शव कुन देशका नागरिकको हो भन्ने अझै खुलेको छैन । सुरुमा सबै चिनियाँ नागरिक भएको बेलायतले हाल आएर ती व्यक्ति भियतनामी हुनसक्ने अनुमान गरेको छ । भेटिएका शवमध्ये ३१ पुरूष र ८ महिला छन् । मृत्युको कारण पत्ता लगाउन हाल शव परीक्षण भइरहेको जनाइएको छ ।