जनता टाइम्स

१९ कार्तिक २०७६, मंगलवार १८:३४

बिद्या भट्टराई जिताउन सत्तारुढ नेकपाले बनायो निर्वाचन परिचालन समिति, यस्तो छ रणनीति


पोखरा, कात्तिक १९ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुई हजार ६४१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सोही क्षेत्रबाट निर्वाचित तात्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उहाँकी धर्मपत्नी तथा अनेरास्वबियूकी पूर्व केन्द्रीय सचिव बिद्या भट्टराई अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय नेकपाले गरिसकेको छ । भट्टराई जिताउ अभियान अघि बढाउँदै नेकपाले आज निर्वाचन परीचालन कमिटी गठन गरेको हो ।

निर्वाचनको तयारी सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीको जिल्ला कमिटीको ५औँ पूर्ण बैठकले निर्वाचन परिचालन समितिसहितका विभिन्न उपसमिति गठन गरेको जानकारी दिनुभयो । घोषित कार्यक्रमअन्तर्गत कात्तिक २१ गते उपनिर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्दै जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने, २३ गते पार्टी अध्यक्ष पुष्पकमल दहाल‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलको उपस्थितिमा जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण गर्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै २४ गते निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा महानगरपालिकाका ११ वटै वडामा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । बैठकले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङको संयोजकत्वमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेकोे छ भने ११ वडामा वडास्तरीय निर्वाचन कमाण्ड कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यस्तै श्रीनाथ बरालको संयोजकत्वमा जनवर्गीय मोर्चा सङ्गठन परिचालन कमिटी गठन गर्दै पार्टीले उक्त कमिटीअन्तर्गत आर्थिक व्यवस्थापन, प्रचारप्रसार, युवा परिचालनलगायत विभिन्न २६ वटा उपसमिति गठन गरिएको थापाले जानकारी दिनुभयो ।

अघिल्लो निर्वाचनमा आठ हजार ५४२ मत अन्तरले पार्टी विजयी भएको बताउँदै उहाँले यस निर्वाचनमा थप पाँच हजार मतसहित विजयी बन्ने दावी गर्नुभयो । निर्वाचन परिचालन सम्बन्धमा निर्वाचन आयोगले तोकेको रु २५ लाखको परिधिमा रही प्रचारप्रसार गर्ने थापाको भनाइ छ । नेकपाले कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।