जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १४:१६

ओली–प्रचण्ड भिडाउने चक्रब्युँह तोडियो : यसरी भयो सरकारमा आलोपालो नेतृत्वको च्याप्टर क्लोज


काठमाडौं, कात्तिक २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई भिडाएर अस्थिरता निम्तयाउने एउटा च्याप्टर क्लोज भएको छ । तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्दा भएको एउटा सहमति सरकारको नेतृत्व आलोपालो गर्ने भन्ने बिषयलाई उछालेर अध्यक्षद्वयबीच फाटो ल्याउन खोज्ने प्रतिक्रियावादीको योजनाबारे जानकारी भएपछि अध्यक्ष प्रचण्डले नै आलोपालोको च्याप्टर क्लोज गरिदिनु भएको हो ।

दुई पार्टी मिलाउने क्रममा भएको ओली र प्रचण्डले सरकारको नेतृत्व आधा–आधा समय गर्ने सहमति भएको बिषयलाई उछालेर ओली सरकारको समय सकिन लाग्यो भने जसरी प्रचार गर्दै अस्थिरता सिर्जना गर्न खोजिएको थियो । सोही योजनाअनुसार हरेक जसो ठाउँमा प्रचण्ड भेट्यो कि आलोपालो सहमतिको बिषयमा प्रश्न तेस्र्याउने काम भइरहेपछि दाङबाट उहाँले आलोपालोको च्याप्टर नै क्लोज गरिदिनुभएको हो ।

प्रेस संगठन नेपाल दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली नेतृत्वको बर्तमान सरकार नै पाँच वर्षसम्म स्थायी रूपमा चल्ने प्रष्ट पार्टीको निर्णय सुनाउनु भयो । ‘सरकारको नेतृत्व आधा–आधा समय गर्ने कुरा इतिहास भइसक्यो, यही सरकार नै पाँच बर्षसम्म रहन्छ,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।

प्रचण्डको यो घोषणासँगै अव सरकारलाई अस्थिर बनाउन लागेका प्रतिक्रियावादीहरु तिलमिलाएका छन भने समृद्ध नेपाल ः सुखी नेपालीको मुल लक्ष्य प्राप्तीमा लागेको आम नेपाली जनता र नेकपाका नेता कार्यकर्तामा उत्साहको सञ्चार भएको छ । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका प्रदेश ५ का मुख्यमन्त्री तथा पार्टी इञ्चार्ज शंकर पोखरेललाई साथमा राखेर अध्यक्ष प्रचण्डले यो घोषणा गर्नुभएपछि सवैमा उत्साह छाएको हो ।