जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १४:३७

अश्लिल हर्कतमा समातिए यी ब्यापारी


विराटनगर, कात्तिक २० । मोरङका एक ब्यापारी महिलालाई अश्लिल म्यासेज पठाउँदा प्रहरी हिरासतमा पुगेका छन । सामाजिक सञ्जालमार्फत अश्लील म्यासेज पठाएको आरोपमा प्रहरीले ब्यापारी खेमराज नेपाललाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको हो ।

विराटनगर–३ भट्टा चोकमा बस्दै आएका नेपाललाई महिलाको उजुरीको आधारमा मोरङ प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको हो । पक्राउ परेका नेपाल जग्गा कारोवार र पर्यटन व्यवसायसँगै लायन्स क्लबमा पनि सक्रिय ब्यक्ति हुन । नेपालले विराटनगर पुष्पलाल चोककी एक महिलालाई अश्लिल म्यासेज पठाएको र ती महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो । उनीबिरुद्ध मंगलबार अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार खिइजूले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लील सन्देश पठाएका हुन । म्यासेज पठाएलगत्तै ती महिलाले प्रहरीलाई मौखिक उजुरी गरेकी थिइन् । उजुरीलगत्तै प्रहरीले नेपाललाई नियन्त्रणमा लिएको थियो । पीडित महिलाले मंगलबार मात्र लिखित उजुरी दिएपछि अभद्र व्यवहार मुद्दा दायर गरिएको डिएसपी खिइजूले बताउनुभयो । सामाजिक सञ्जालमार्फत गरेको दुर्ब्यवहारमा साइबर क्राइमअन्तर्गत मुद्दा चल्ने भएपनि पीडित महिलाले साइबर क्राइम मुद्दा चलाउन नमानेपछि प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको हो ।