जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १५:०९

ससुराले बोक्सी भन्दै डाम्न खोजेपछि…


पाँचथर, कात्तिक २०

पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताउनुभएको छ । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उहाँले बताउनुभयो ।

कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पुजाले सुनाउनुभयो । पूजा भागेर अहिले माइतीको शरणमा पुग्नुभएको छ । गएको भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्घात कुटपिटसमेत गरेको पूजाको भनाइ छ । सोही रात आफूमाथि भएको जघन्य अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएको उहाँको भनाइ छ ।

यद्यपि पीडकहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको पीडितको गुनासो छ । प्रहरीले निकै समय गुज्रेपछि जाहेरी बिना कारबाही गर्न नमिल्ने भनेपछि असोज २७ मा जाहेरी गरेपनि प्रहरीले पीडकलाई अझै पक्राउ नगरेको पीडित पूजाको दुःखेसो छ । उक्त घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । कान्तप्रसादले धामीको काम गर्ने गरेको जनाइएको छ ।

कान्तप्रसादले ‘मेरो छोरो खान लागिस, घटेर मर्न लाग्यो’ भन्दै ससुराले यातना दिएको पीडित पुजाको दुःखेसो छ । सासूबाटसमेत बोक्सीकै लाञ्छना पाउँदै लामो समयदेखि मानसिक यातना पाएको पुजालेले पीडा पोख्नुभयो । बाबुआमाकै कुरा सुन्ने गरेका श्रीमान तेजप्रसादबाट पनि आफू अपहेलित भएको पूजाले बताउनुभयो । फरार आरोपितहरुको खोजी भइरहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो ।